छटपटीमा शेयर लगानीकर्ताः माफिया एक्जिट हुँदा गुम्यो लहलहैमा लाग्नेहरुको लगानी, अबको यात्रा कता ?

२४ भाद्र २०८१, सोमबार १६:०९

काठमाडौँ । पछिल्ला केहि दिन यता पुँजी बजारमा आएको गिरावटले शेयर लगानीकर्ताहरुमा छटपटी उत्पन्न गरेको छ । अस्वभाविक रुपमा उचालिँदा मख्ख भएका लगानीकर्ता बजार राताम्य हुँदा निराश भएका छन् । लगानीकर्ताहरूले बजार ३२०० बिन्दुभन्दा माथि पुग्ने आशामा थिए, जसका कारण २८०० र २९०० मा परिसूचक हुँदा शेयर खरिद गरेका थिए । तर पछिल्लो समयमा निरन्तर रुपमा बजार ओरालो लागि रहेकाले नवप्रवेशी लगानीकर्ताहरूको अर्बौं रकम गुमिरहेको छ ।

शेयर बजार लगातार चोथो दिन समेत ओरालो लागेको छ । चार दिनमा शेयर बजार १८४.१५ अकंले घट्न पुगेको छ । कारोबार रकम समेत निरन्तर खुम्चिदै गएको छ । लगानीकर्ताहरूको लागि यो अवस्थाले ठूलो चिन्ता र तनावको स्थिति सिर्जना गरेको छ । ठूला लगानीकर्ताहरूको एक्जिट प्रक्रिया हुनु र मुनाफा सुरक्षित गर्न गरिएको विक्री दबाबले शेयर बजार ओरालो लागि रहेको छ । लगानीकर्ताहरूको विश्वास पनि कमजोर बनेको छ । ठूला लगानीकर्ताहरूको एक्जिटले नवप्रवेशी लगानीकर्ताहरूमा ठूलो मार परेको छन् । बजारमा निरन्तर गिरावट आउने हो कि भन्ने डरले धेरै लगानीकर्ताहरू आफ्नो शेयर बेच्न बाध्य भएका छन्, जसले बजारमा विक्री दबाबलाई अझ बढी बढाएको छ ।

बजारमा प्रभावशाली र ठूला लगानीकर्ताहरूको एक समूहले माफियाको रूपमा काम गर्दै आएको देखिएको छ । यी माफियाहरूले आफ्नो फाइदाका लागि बजारलाई हेरफेर गर्ने, कृत्रिम रूपमा शेयर मूल्य बढाउने र घटाउने काम गरिरहेका छन् । पहिलो चरणमा, माफियाहरूले शेयरको मूल्यलाई कृत्रिम रूपमा बढाउने, लगानीकर्ताहरूलाई आकर्षित गर्ने र बजारमा उत्साह जगाउने रणनीति अपनाउँछन् । जब नवप्रवेशी लगानीकर्ताहरू आकर्षित भएर बजारमा प्रवेश गर्छन् र आफ्नो पूँजी लगानी गर्छन्, माफियाहरू अचानक आफ्नो शेयर बिक्री गर्न थाल्छन्, जसले बजारमा ठूलो गिरावट ल्याउँछ ।

बजार घटाउन माफियाहरूले विभिन्न अफवाहहरू, गलत समाचारहरू र सामाजिक सञ्जालको दुरुपयोग गरेर शेयर मूल्यमा हेरफेर गर्छन् । नियामक निकायहरू र सरकारको कमजोर निगरानीको फाइदा उठाउँदै, उनीहरूले बजारलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्छन् । यस अवस्थामा, ठूला लगानीकर्ताहरूले आफ्नो लाभ सुरक्षित गरेर बजारबाट एक्जिट गर्दा साना लगानीकर्ताहरूको पूँजी डुबेको छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा फैलिने सूचनाले बजारमा अनिश्चितता र अस्थिरता ल्याएाछ। गलत सूचनाका आधारमा निर्णय लिनाले साना लगानीकर्ताहरू बढी प्रभावित हुन्छन्। उनीहरू बजारको सही स्थिति नबुझी हल्लाको पछाडि लागेर आफ्नो सम्पत्ति गुमाउन बाध्य हुन्छन् । अहिले माफियाहरुले शेयर बजार माथि उठ्छ भन्दै प्रचार गरी स–साना लगानीकर्तालाई शेयर किन्न लगाएर आफु बाहिरिएको देखिएको छ ।

हचुवा भरमा लगानी गर्दा कुनै आधारभूत विश्लेषण नगरी, एकअर्काको सल्लाह, अफवाह वा कुनै एकल सूचना मात्रको भरमा शेयर किन्ने र बेच्ने प्रवृत्तिले केहि लगानीकर्ताको लगानी बालुवामा पानी झै भउको छ । यो प्रवृत्ति विशेष गरी नवप्रवेशी लगानीकर्ताहरूमा प्रबल देखिएको छ, जसले गर्दा उनीहरू बजारको चालबाजीमा फस्छन् र आफ्नो पूँजी गुमाउँछन्। हललहैमा लगानी गर्दा, धेरैजसो लगानीकर्ताले बजारको वास्तविक स्थिति र जोखिमलाई ध्यान नदिई एकपटकको नाफा देखेर हचुवा भरमा निर्णय गर्छन् । जस कारण अहिले लो क्यापमा लगानी गर्ने लगानीकर्तालाई हैरानी भएको छ ।

बजारमा हालको अनिश्चितताको अवस्थामा, नियामक निकायहरूले कडा निगरानी र कारबाहीको आवश्यकता महसुस गरेका छन् । नेपाल धितोपत्र बोर्डले बजारलाई स्थिर राख्न र लगानीकर्ताहरूको विश्वास फर्काउनका लागि विशेष कदम चाल्नुपर्ने देखिन्छ । साथै, लगानीकर्ताहरूलाई पनि आफ्नो लगानी गर्दा सावधानी अपनाउन, बजारका चालबाजीलाई बुझ्न र लामो अवधिको रणनीतिमा ध्यान दिन सुझाव दिइन्छ । माफियाहरूको चलखेल र अनियमितताले बजारमा सन्तुलन बिगारेको छ, जसका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।

समग्रमा हेर्दा शेयर बजारका लागि यतिबेला माहोल भने सकारात्मक रहेको छ । सरकार र नियामक निकायहरु शेयर बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा क्रमशः खुकुलो नीति लिंदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरु परिमार्जन भएका छन् । शेयर बजारको शत्रुको रुपमा लिइने बैंकको ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेके छ । सरकार पनि सेयर बजार सुधारकै पक्षमा लागेको छ । यी कारणहरुले केही करेक्सनहरुका बाबजुत पनि बजारले गति लिन विश्वास गरिएको छ । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । लगानीकर्ताको मनोबल दरिलो बनाउने सकेन बजारले सन्तुलित लय लिनुपर्ने देखिन्छ ।

लगानीकर्ताहरूले शेयर बजारमा लामो समयसम्म टिक्न र नाफा कमाउनका लागि सूचित र विचारशील निर्णय लिनुपर्छ। यसका लागि बजारको अध्ययन, कम्पनीहरूको वित्तीय स्थिति, नीतिगत परिवर्तनहरू र समग्र आर्थिक परिदृश्यको अध्ययन गर्नु आवश्यक छ ।

One thought on “छटपटीमा शेयर लगानीकर्ताः माफिया एक्जिट हुँदा गुम्यो लहलहैमा लाग्नेहरुको लगानी, अबको यात्रा कता ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*