चौधरी ग्रुपले हडपेको (४-४) रोपनी पर्ति जग्गा फिर्ता ल्याउन गुठीयारहरु सर्वोच्च जाँदै, नयाँ प्रपञ्च रच्दै सीजी

२३ भाद्र २०८१, आईतवार ११:०५

काठमाडौं । १६ सय वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको पुल्चोकस्थित पर्ति (ञवाल गुठीयारको कुलदेवता रहेको)जग्गा चौधरी ग्रुप (सीजी)ले आफ्नो भएको जिकिर गरेपछि गुठियारहरुले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पहिले सगोलमा रहेको ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा चौधरी ग्रुपले हड्पेपछि रातो मत्स्येन्द्रनाथको रथ निर्माण सुरु गर्नुअघि विशेष पूजा गरिने देवस्थल मासिएको भन्दै गुठियारहरुले सर्वोच्च जाने तयारी गरेका हुन् । सर्वोच्च जानका लागि प्रमाणहरु संकलन भइसकेको र छिट्टै रिट दायर गर्ने उनीहरुले बताएका छन् ।

यसअघि उनीहरुले आफुहरुको कुलदेवतास्थल नै नरहने अवस्थामा आफुहरुले रथ निर्माण नगर्ने र जात्रा नै रोकिने चेतावनी दिँदै सम्पदा संरक्षणको अभियान चलाएका थिए । अभियानपछि कुलदेवतास्थल वरपर गुठीयारहरुले पर्खाल लगाएका छन् । अर्वपति एवं कांग्रेस सांसद विनोद चौधरीका भाइ अरुण चौधरीकी पत्नी शिला चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजले ञवालहरुले पर्ति तथा गुठीको भनिरहेको जग्गा समेत कम्पनीको भएको जिकिर गरेको छ ।

कम्पनीका जनरल म्यानेजर राम विष्टले पुल्चोकको उक्त जग्गा १९ सालदेखि नै कम्पनीको भएको बताए । बीमापोष्टसँग उनले भने, ‘यसको कथा लामो छ । २०१९ सालमा कम्पनीका नाममा रहेको जग्गा २१ सालको नापीका बेला तलमाथि (पर्तिमा दर्ता) हुन पुगेको हो । २१ सालको नापी लगत्तै कम्पनी क्लेम गर्न गएको भए आज यो समस्या नै आउँदैन थियो । कम्पनी पोत तिरिरहयो क्लेम गर्न गएन । पछि जग्गा तलमाथि भएको थाए पाएपछि मालपोत जाँदा कामै गरिदिएन । ०४८ सालमा कम्पनी बाध्य भएर क्लेमका लागि जिल्ला अदालत काठमाडौं पुग्यो । मुद्दा चल्दा चल्दैका बखत २०५० सालमा ञवालहरुले अन्तैबाट आफ्नो कुलदेवता ल्याएर उक्त जग्गामा राखेको कुराहरु छ ।’

२०५७ सालमा जिल्ला हुँदै पुनरावेदन पुगेको मुद्दाले कागज प्रमाण हेरेर निर्णय गर्नु भनेकामा त्यसो गरिदिएन । बीचैमा जग्गा श्री ५ को सरकारको भनेर लेखिदियो, उनी अगाडि भन्छन्, ‘पछि ०६२ सालमा सर्वोच्चले २०५७ सालको फैसला कार्यान्वयन गर्न भनि दिएको आदेश अनुसार २०६६ सालमा आएर सरजमिन गर्न लगाई कानून बमोजिम कम्पनीको नाममा जग्गा ल्याइएको हो ।’

सीजीले नयाँ कुरा झिकेपछि गुठीयारहरु झन् आक्रोशित भएका छन् । उनीहरुले चौधरीग्रुपले विगतमा पनि जालसाजीपूर्वक जग्गा हड्पेको र फेरि नयाँ प्रपञ्च रच्न थालेको आरोप लगाएका छन् । कम्पनीतर्फबाट वारेस बस्नेका नाममा समेत जग्गा कित्ताकाट भएको भन्दै उनीहरुले २०२१ को नापीमा स्पस्ट पर्ति भनिएको जग्गा २०५२ सालमा नेपाल सरकारको नाममा आएको प्रष्ट प्रमाण रहेको बताएका छन् । उनीहरुले हाल ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका मामा माइचा महर्जनसहित ११ जनालाई कित्ताकाट गरेर १९ आना र अदालती वारेस समेतलाई जग्गा भाग हालिएको ठोकुवा गरेका छन् ।

ञवा देवाली गुठीका गुठीयारहरुले तत्कालीन श्री ५ को सरकार र हाल नेपाल सरकारको नाममा रहेको सगोल ४३ नम्बर कित्ता अन्तर्गतको ४ रोपनी ४ आना १ पैसा जग्गा पूर्ववत अवस्थामा फर्काइनु पर्ने अडान राखेका छन् । २०२१ सालको नापी अनुसार ञवा देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित तत्कालीन ४३ नम्बर कित्ताको ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा २०६७ सालपछि ५ टुक्रा पारिएको छ । यसमा तत्कालीन वडा सचिव बाबु राजा डंगोलले सिमिति गुठीयारहरुलाई बोलाएर गरेको सर्जमिनबाहेक यो जग्गा किनबेचमा हालसम्म अन्य कानूनी प्रमाण देखिएको छैन ।

ञवाल गुठियारहरुका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे । तर, २०५८÷०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ । सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न मिल्ने गरी आदेश दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।

यो जग्गामा हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । अरुण चौधरी पक्षले श्रीधरशमशेर जबराको हुने सर्वोच्चको फैसला बमोजिमको उक्त जग्गा हिमालयन इन्टरप्राइजेज प्रालिको भएको दावी गरेको छ ।

यो पनि नछुटाउनुहोस्

पुल्चोकको ‘४-४’ रोपनी सरकारी जग्गा हिनामिनामा अरुण चौधरीकी पत्नी शिला समेत संलग्न रहेको खुलासा

चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’

पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*