निजी अस्पताललाई पनि बीमाको सुविधा दिने व्यवस्था गर्छौंः स्वास्थ्य मन्त्री पौडेल

२१ भाद्र २०८१, शुक्रबार १८:०१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालमा बीमा सुविधा हुनुपर्ने बताएका छन् । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनको धारणा रहेको छ ।

मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनलेको भनाई रहेको छ ।

उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने। निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ।’

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गरे । साथै उनले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दा पनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढङ्गले सेवा दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*