एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका कर्मचारीको बीमा युनाइटेड अजोड इन्स्योरेन्समा, यस्तो छ सहमति

२१ भाद्र २०८१, शुक्रबार १७:४०

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१ औं संस्करणका लागि मञ्च र बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । युनाइटेड अजोडले इन्स्योरेन्स पार्टनरको रूपमा अवार्डलाई सहयोग गर्न लागेको हो ।

युनाइटेड अजोड यसअघिको संस्करणमा पनि इन्स्योरेन्स पार्टनरको रूपमा जोडिएको थियो । भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा आयोजना हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा युनाइटेड अजोड सह–प्रायोजकको रूपमा रहने मञ्चले जनाएको छ ।

युनाइटेड अजोडले मञ्चका सम्पूर्ण सदस्यलाई जनही पाँच लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा पोलिसी प्रदान गर्नेछ । यसका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्नेछ । यस सम्बन्धि सम्झौतापत्रमा शुक्रबार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे ।

सम्झौतापछि सीईओ रावलले नेपाली खेलकुदको प्रतिष्ठित कार्यक्रममा सह–प्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । मञ्चका अध्यक्ष सुवेदीले एआइपीएस एसियाको २५ औं कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताए ।

पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्षको उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सार्वजनिक हुन बाँकी छ । त्यसबाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् ।

ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहने मञ्चले जनाएको छ । यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्ष र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउने छन् ।

अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी मञ्चका महासचिव प्रज्ज्वल ओलीले दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*