जीवन बीमाको परिभाषा, प्रकार र यसको महत्व

राजेन्द्र पन्थी
२१ भाद्र २०८१, शुक्रबार १४:३८

जीवन बीमा के हो?

जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो । बीमालेखधारीले आफ्नो जीवनको लागि बीमा योजना लिन्छ, जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ ।

बीमालेखधारीको मृत्यु भएमा, बीमांकित रकम उसको परिवार वा कानूनी उत्तराधिकारीलाई प्रदान गरिन्छ । जीवन बीमा एउटा सम्झौतापत्र हो, जसले मृत्युपछि परिवारलाई आर्थिक सहायता दिन्छ र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्छ ।

जीवन बीमाका प्रकार

जीवन बीमा विभिन्न प्रकारका हुन्छन्, जसले बीमालेखधारीको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न योजना उपलब्ध गराउँछन् । प्रमुख प्रकारहरू निम्न छनः

१. म्यादी जीवन बीमा

यो बीमा एक निश्चित अवधिका लागि मात्र हुन्छ । यदि बीमालेखधारीको सो अवधि भित्र मृत्यु हुन्छ भने मात्र लाभ प्राप्त हुन्छ । यसमा कुनै बचत सुविधा हुँदैन । यो बीमा किफायती हुन्छ, तर निश्चित अवधि पूरा भएपछि रकम फिर्ता हुँदैन ।

२. जीवनकाल बीमा

यसमा बीमालेखधारीको मृत्यु नभएसम्म बीमा कवरेज रहन्छ, चाहे बीमालेखधारीको मृत्य कहिले पनि होस् । यसले मृत्युपछि परिवारलाई आर्थिक सुरक्षा दिन्छ र प्रिमियम पनि लगातार तिर्नुपर्छ । यस प्रकारको बीमामा केही बचतको सुविधा पनि उपलब्ध हुन सक्छ ।

३. बचतसहितको जीवन बीमा

यो बीमा योजनामा बीमालेखधारीको मृत्यु नभए पनि, एक निश्चित अवधि पूरा भएपछि बीमांकित रकम फिर्ता हुन्छ। यसमा जीवन बीमाको सुरक्षा र बचत दुवै हुन्छन्। बीमालेखधारीले बचतका रूपमा रकम फिर्ता लिन सक्छन्, जसले भविष्यमाथि आर्थिक सुरक्षा दिन्छ ।

४. साङ्गठानिक बीमा

यो बीमा कम्पनी, संस्था वा अन्य समूहले आफ्ना कर्मचारी वा सदस्यहरूलाई प्रदान गर्ने बीमा हो । यसमा बीमालेखधारीको व्यक्तिगत प्रिमियम कम हुन्छ, र सबै सदस्यहरूले बीमाको लाभ पाउँछन् ।

जीवन बीमाको महत्व

जीवन बीमा कुनै पनि व्यक्तिको जीवनमा अत्यन्तै महत्वपूर्ण हुन्छ, किनभने यसले अनेकौं तरिकाले व्यक्तिगत र पारिवारिक जीवनलाई आर्थिक सुरक्षाको ढाल प्रदान गर्दछ । जीवन बीमाको महत्व निम्नानुसार छन्ः

१. आर्थिक सुरक्षाः

जीवन बीमाको प्रमुख उद्देश्य मृत्युपछि परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो । बीमालेखधारीको मृत्यु भएमा, परिवारले दैनिकी खर्च धान्न, बालबालिकाको शिक्षामा लगानी गर्न, स्वास्थ्य सेवामा ध्यान दिन र अन्य आवश्यकता पूरा गर्न बीमांकित रकम प्रयोग गर्न सक्छन् । यसले परिवारलाई अकस्मात आएको आर्थिक संकटबाट बचाउँछ ।

२. रिटायरमेन्टको योजनाः

जीवन बीमाले दीर्घकालीन बचतको रूपमा काम गर्दछ । कुनै पनि व्यक्ति जीवनको मुख्य कामकाजी समयपछि रिटायर हुन्छ, र उसले आम्दानीको स्रोत गुमाउँछ । जीवन बीमाले रिटायरमेन्टपछि पनि बीमालेखधारीलाई निश्चित रकम फिर्ता गर्छ, जसले गर्दा वृद्धावस्थामा पनि आर्थिक सुरक्षाको प्रत्याभूति हुन्छ ।

३. ऋण भुक्तानीमा सहायताः

कुनै पनि व्यक्तिको अकस्मात मृत्यु भएमा, उसको परिवारलाई उसको बाँकी रहेको ऋण तिर्ने जिम्मेवारी आउन सक्छ । यस अवस्थामा, जीवन बीमाले परिवारलाई ऋण भुक्तानीमा सहायता प्रदान गर्दछ । बीमांकित रकमले बैंक ऋण, घरको लोन वा अन्य आर्थिक दायित्व पूरा गर्न मद्दत गर्छ, जसले परिवारलाई ऋणको भारीबाट बचाउँछ ।

४. शैक्षिक योजनाः

जीवन बीमाले परिवारका बालबालिकाको शिक्षा पूरा गर्न ठूलो भूमिका खेल्छ । बीमालेखधारीको मृत्यु भएमा, बीमांकित रकम बालबालिकाको उच्च शिक्षामा प्रयोग गर्न सकिन्छ, जसले परिवारलाई आर्थिक सहयोग पु¥याउँछ र बालबालिकाको भविष्य सुरक्षित राख्न मद्दत गर्छ ।

५. कर लाभः

नेपालमा जीवन बीमा योजनामा गरिएको लगानीमा सरकारबाट कर छुटको व्यवस्था छ । बीमालेखधारीले आफ्नो आयकरमा छुट प्राप्त गर्न सक्छन्, जसले जीवन बीमालाई एक राम्रो लगानीको माध्यम बनाउँछ । कर छुटको साथसाथै भविष्यको लागि बचत पनि हुने भएकाले यो एकदमै लाभदायक योजना हो ।

६. स्वास्थ्य बीमा र अन्य लाभः

कुनै जीवन बीमा योजनाले स्वास्थ्य बीमा र दुर्घटना बीमा जस्ता अन्य लाभहरू पनि प्रदान गर्छ । बीमालेखधारीले दुर्घटना वा अन्य स्वास्थ्यसम्बन्धी समस्याहरूमा आर्थिक सहयोग प्राप्त गर्न सक्छन् । यसले जीवनका अनिश्चित अवस्थाहरूमा अतिरिक्त सुरक्षा प्रदान गर्छ ।

निष्कर्ष

जीवन बीमा केवल मृत्युपछि परिवारलाई आर्थिक सहायता दिन मात्र नभएर, दीर्घकालीन बचत र भविष्यको लागि योजना बनाउनका लागि एक प्रभावकारी साधन हो । जीवन बीमाले व्यक्तिगत जीवनमा आर्थिक सुरक्षा, स्थिरता र आत्मविश्वासको भावना प्रदान गर्दछ । जीवनको अनिश्चितता र जोखिमहरूको सामना गर्न, जीवन बीमा अत्यावश्यक हुन्छ। चाहे परिवारको आर्थिक सुरक्षा होस्, ऋण भुक्तानी होस् वा रिटायरमेन्टको योजना होस्, जीवन बीमा दीर्घकालीन सुरक्षाको एउटा सशक्त उपाय हो ।

(लेखक पन्थी आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक हुन् ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*