प्रधामन्त्री ओलीको अमेरिका भ्रमण सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण नियमित एवं सामान्य रहेको बताइएको छ । परराष्ट्र मामिलाका जानकारहरुले राष्ट्र संघको महासभामा भाग लिन जाने जाने भ्रमणलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । राष्ट्र संघको महासभाका दौरान हुने साइलाइन वार्ता भने हुनसक्ने उनीहरुको भनाइ छ ।
असोज ५ गते प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्क जाने भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओलीले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत प्रतिनिधिमण्डलमा रहने बताइएको छ ।
महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म चल्नेछ । ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । नेपाली प्रतिनिधिमण्डल असोज १५ गते मात्रै स्वदेश फर्किने कार्यक्रम छ ।