नेपाल टेलिकमको एमडी नियुक्तिमा सेटिङ्, पूर्वराष्ट्रपति भण्डारीकोमा धाउने कार्की को हुन् ?

सेटिङमा संगीतालाई तालाचाबी
२१ भाद्र २०८१, शुक्रबार ०९:२४

काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम भँजाएर विचौलियाको सेटिङमा सरकारले अयोग्यलाई नेपाल टेलिकमको तालाचाबी बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा शक्ति केन्द्र धाएर पनि प्रबन्ध निर्देशकको नियुक्ति लिन असफल संगीता पहाडी अर्याललाई केपी ओली नेतृत्वको सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । तत्कालीन सिफारिस समितिले खामबन्दी गरि सूची पठाएका तीन जना मध्ये टेलिकमकै विमल आचार्य र तत्कालीन जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा फालिएका छन् ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको एमडी नियुक्तीमा अन्ततः विचौलियाको दौडधूपले सार्थकता पाएको छ । केही दिनअघिसम्म दबाब थेग्न नसकेपछि महान्यायाधिवक्ता गुहारेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ आफैं बिहीबार क्याविनेटमा पहाडीको नाम प्रस्ताव गर्न बाध्य भए । पहाडीका श्रीमान् नेपाली सेनाका कर्णेल विश्वबन्धुलाई बोकेर शक्ति केन्द्र धाउँदै हिँडेका ठेकेदार एवं विचौलिया लोकेन्द्र कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट दबाब दिन लगाएपछि सञ्चारमन्त्री गुरुङ लुरुक्क परेर नियुक्तिको फाइल बोकेर क्याविनेट पुगेका बताइएको छ ।

विगतमा मन्त्री खाँदा प्राय रक्षा रोज्ने विद्यादेवी भण्डारीको रक्षामन्त्री कार्यकालमा नेपाली सेनाका विभिन्न ठेक्का हत्याएका पूर्व चलचित्रकर्मी एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका कान्छाभाई लोकेन्द्र कार्की सञ्चार मन्त्रालयले नयाँ आवेदन आह्वान गर्न मिल्छ कि मिल्दैन भनी राय मागेको थाहा पाएपछि संगीताका श्रीमान् विश्वबन्धुलाई बोकेर महान्यायाधिवक्ता रमेश बडाललाई भेट्न पुगेका थिए ।
कार्की पूर्वराष्ट्रपति भण्डारीकोमा मात्र नभई बालुवाटारको निरन्तर चक्कर काटिरहेका थिए । नाताले कार्की पूर्वराष्ट्रपति भण्डारीको आफ्नै फूपुका छोरा हुन् । कार्कीका दुई जना दाजुहरु पनि सेनाको उपल्लो दर्जाका अधिकारी हुन् । कार्कीका दाई ज्ञानेन्द्रबहादुर पूर्व रक्षामन्त्री भइसकेका र नेपाली सेनामा अधिक पहुँच राख्ने राणा खलकका ज्वाइँ समेत हुन् । कार्कीका मावली खलकले समेत नेपाली सेनाको उपल्लो दर्जाको स्वाद लिइसकेका बताइन्छ । यता, पूर्वराष्ट्रपति विद्याभण्डारीका नातागोताको समेत नेपाली सेनामा दबदबा नै थियो, भनिन्छ । आर्मीको उच्च दर्जामा रहेका दाजुहरुले नै तत्कालीन जल्दाबल्दा कम्युनिष्ट नेता मदन भण्डारीलाई मनाएर विद्यालाई सुम्पिएका बताइन्छ ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि पहाडीले गएको पुस १७ देखि निमित्तको जिम्मेवारी पाएकी थिईन् । असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडीका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।

निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका थिए । टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका थिए ।

जसमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा, टेलिकमकै निमित्त पहाडीसँगै विमल आचार्यको नाम तत्कालीन सञ्चारसचिव सुवेदी नेतृत्वको सिफारिस समितिले खामबन्दी गरेको थियो । १७ जनाको सूचीबाट योग्यहरुको फाइल लुकाउन लगाएर कार्की, तत्कालीन सञ्चारमन्त्री रेखा शर्मा र तत्कालीन सञ्चारसचिव रामकृष्ण सुवेदी तीनै जनाले आ-आफ्ना मान्छेहरुको मात्रै राखेर खामबन्दी गरेका थिए ।

तत्कालीन सञ्चारसचिव सुवेदी नेतृत्वमा गठित सिफारिस समितिले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माका साथी विमल आचार्य, सिफारिस समिति संयोजक सुवेदी स्वयंमका साथी अनिलकुमार झा र कार्की निकटस्थ संगीता पहाडीको नाम छानेर खामबन्दी गरेको थियो । त्यो बेला तत्कालीन प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालसम्मलाई प्रभावमा पारेर यी तीनै जनाले १७ जनामध्ये १४ उम्मेदवारलाई प्रतिस्पर्धामै आउन दिएका थिएनन् ।

अहिले पनि सञ्चार मन्त्रालयले दबाब खेप्न नसकेपछि नयाँ प्रक्रियामा गएर एमडी छनोट गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । तर, ठेकेदार कार्कीले महान्यायाधिवक्तालाई समेत प्रभावमा पारेर आफ्नो स्वार्थ सिद्ध गरेका छन् ।

यो पनि नछुटाउनुहोस्:

सेटिङमा अयोग्यलाई टेलिकमको एमडी बनाउन पूर्वराष्ट्रपति भण्डारीको नाम भजाइँदै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*