आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्षको भाद्रशुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा गरी मनाइँदैछ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गर्दा महादेवलाई पतिको रूपमा पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको विवाह इच्छा विपरीत भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरूले लुकाएर राखेकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि यस दिनलाई हरितालिका तीजको व्रतको रूपमा लिन थालिएको हो ।
संस्कृत भाषाका ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । यसैबाट हरितालिका तीज शब्द बनेको मानिन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई पतिको रूपमा पाएकीले आजको दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वास सहित महिलाहरू व्रत बस्ने गर्छन् ।