साउन महिनामा जीवन बीमा व्यवसाय ५% ले घट्यो, अग्रस्थानमा नेपाल लाइफ, सिटिजन–रिलायबल र नेशनलको उच्च वृद्धि

२० भाद्र २०८१, बिहीबार १६:५६

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन पाँच दशमलव ४५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका जीवन बीमा कम्पनीहरुले चालु आवको साउनमा १८ अर्ब ५३ करोड रुपैयाँको मात्र कुल बीमा शूल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । गत आर्थिक वर्षको तुलनमामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.३२ प्रतिशतले वृद्धि भएको छ । सो कम्पनीले साउनमा पाँच अर्ब ७१ करोड बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफको कुल बीमा शुल्क आर्जन २५.९५ प्रतिशतले बढेर दुई अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, तेस्रो नम्वरमा एलआईसी नेपाल परेको छ । सो कम्पनीले दुई अर्ब सात करोड रुपैयाँ कूल व्यवसाय गरेको छ । कम्पनीको कुल बीमा शुल्क ७.९२ प्रतिशतले बृद्धि भएको छ ।

साउन महिनामा हिमालयन लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ०.२० प्रतिशतले घटेको छ । कम्पनीले यस महिनामा एक अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै एशियन लाइफले ९२ करोड रुपैयाँको व्यवसाय गर्दा सिटिजन लाइफ ७६ करोड, सुर्यज्योति लाइफको एक अर्ब १२ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै, आइएमई लाइफको व्यवसाय ५४ करोड हुँदा सन नेपाल लाइफको ४४ करोड माथि व्यवसाय गरेको छ । विवरण अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ४३ करोड २५ लाखको बीमा व्यवसाय गर्दा रिलायबल नेपाल लाइफले ४९ करोड, सानिमा रिलायन्स ६७ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

वृद्धिदरको आधारमाः

साउन महिनामा वृद्धिदरको आधारमा सिटिजन लाइफ सबैभन्दा अग्रस्थानमा रहेको छ । गत आवको तुलनमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३१ दशमलव ८८ प्रतिशतले बढेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको कुल बीमा शुल्क आर्जन ३१ दशमलव ११ प्रतिशतले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा नेशनल लाइफको २५ प्रतिशत र सूर्यज्योति लाइफको १२ प्रतिशतले वृद्धि भएको छ ।

साउन महिनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८५ प्रतिशतले सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*