सयौं अत्याधुनिक हतियार भित्रिएको शंकास्पद ‘बागबजार काण्ड’ ढिसमिस, कता हरायो ५०० बढि हतियार ?
काठमाडौं । नेपालको राजधानी काठमाडौंमै शंकास्पद रुपमा सयौं अत्याधुनिक हतियार भित्राइएको एउटा घटनालाई गुपचुप रुपमा सामसुम पार्न खोजिएको छ । अझ छिमेकी देश चीन वा अन्य कुनै मित्र राष्ट्रका विरुद्धमा कनेक्सन देखिएको मुख्य अभियुक्तलाई समेत रिहा भएको ‘घटना’ कतै नेपालको वर्तमान राजनीतिक व्यवस्था परिवर्तनकै कारक त बन्दैन ? प्रश्न उब्जिएको छ ।
कमजोर भन्सार व्यवस्थापनको फाइदा उठाउँदै अवैध रुपमा क्विन्टल सुन भित्र्याएका घटनाले सरकार, प्रहरी प्रशासन एवं आम नागरिकको ध्यान खिचे पनि अतिसंवेदनशील विषयहरुमा कसैको ध्यान पुगेको छैन ।
घटना गत असार २० गते प्रहरीले काठमाडौंको बागबजारस्थित न्यूचाँदनी होटलमा छापा मारी शंस्कास्पद वस्तुले भरिएका १३२ वटा टिनका बाकस नियन्त्रणमा लिएको बिषय हो । राष्ट्र बैंकले नोट प्याक गर्ने जस्तै टिनका ति वटा बाकसभित्र चामल भरिएको भटियो । उक्त चामल दोखला र सिन्धुपाल्चोकमा आगामी २०८४ को निर्वाचन अघि वितरण गर्ने र मुख्य योजनाकार मानिएका शिव कुमार बस्नेत उम्मेदवार बन्ने भन्ने कथाभित्रको हो ।
बागबजारस्थित न्यूचाँदनी होटलको माथिल्लो तल्लामा लुकाई राखेको अवस्थामा प्रहरीले ती शंकास्पद टिनका बाकसहरु बरामद गरेको थियो । काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो सिईआबी, महागरनीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी तीनै ठाउँका प्रहरीले सो दिनभरि नै छापा मारेका थिए । ३०० किलो सुन भएको सूचना प्रहरीलाई प्रारम्भिक रुपमा प्राप्त थियो । त्यसैले तीन वटै प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाए पनि त्यसमा केही नदेखिएको भनी पञ्छिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले त्यसमा मुद्दा चलेर पनि केही पनि नदेखिएको भन्दै तामेलीमा राखिएको बताए । घटनापछि सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरेका तीनजनाविरुद्ध अनुसन्धान गरेको थियो ।
घटनास्थलमा खोलेर हेरिएको बाकसमा चामल र कपडा देखिएको थियो । यस मामिलाका जानकारहरुका अनुसार हतियारलाई चालमभित्र राखेर ढुवानी गर्ने गरिन्छ । पसिना नआउने र आइहालेमा चामलले सोस्ने हुँदा तस्करहरुले प्रायः हतियार ढुवानी गर्दा चामलमा राख्ने गर्दछन् । बीमापोष्टले केही अन्तर्राष्ट्रिय हतियार सम्बन्धी गिरोह नजिकका व्यक्तिसँग सम्पर्क गर्दा भारतको मोतिहारीबाट नियमित रुपमा हतियार आइरहेको अपुष्ट जानकारी दिए । सीमापार हतियार तस्करहरुले काठमाडौं हतियार नियमित रुपमा आपूर्ति भइरहेको दावी गरेका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । स्रोतका अनुसार ति १३२ वटा बाकसमा करिब ५०० वटा अत्याधुनिक हतियार ओसारपसार गर्न सकिन्छ । ति सबै बाकसमा हतियार ल्याएर अन्यत्र नै लुकाईसकेपछि चामल मात्रै प्रहरीको हात परेको जस्तो देखिएको छ ।
घटनामा संलग्न व्यक्तिले ती बाकसमा चामल रहेको र आगामी ०८४ को चुनावी अभियान दौरान दुर्गममा बाँड्ने तयारी रहेको बताएपनि त्यसमा सत्यता नरहेको सुरक्षा मामिलाका एक जानकारले बीमापोष्टलाई बताए । पहिलो कुरा त मासिक दुई लाख भाडा तिरेर होटलका १० वटा कोठामा चामलका बाकस राखिनु र दोस्रो २०८४ को निर्वाचनसम्म ति चामल कुहिने हुँदा उक्त तथ्यमा कुनै सत्यता छैन । बरु प्रहरीले त्यति धेरै संवेदनशील घटनालाई सामान्य मानेर विस्तृत अनुसन्धान नगरी त्यतिकै छोडिदिएको छ ।
अचम्म त के भने, त्यसरी बाकस लुकाइएको कोठा बाहिर नेकपा एमालेका केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालय भनेर बोर्ड राखिएको छ । तर, शिव बस्नेत नाम गरेका व्यक्ति एमाले केन्द्रीय सदस्यको लिष्टमा छैनन् । एमालेको केन्द्रीय कमिटीमा नभए पनि सोलुतिरका एक जना शिव बस्नेतले सो चालम राखेको स्वीकार गरेका छन् । बस्नेतले आफ्नो समुहमा २४ जना राखेर काममा लगाइरहेका थिए ।
घटनामा संलग्न मुख्य व्यक्ति बस्नेतको म्यानमारका केही व्यक्ति र सामाजिक अभियान्तासँग केनक्सन रहेको बुझिएको छ । म्यानमारमा सरकार र विद्रोही समूहबीच लामो समयदेखि गृहयुद्ध चलिरहेको छ । जसले ठूलो गणतान्त्रिक मुलुक चीनको सुरक्षा चिन्ता बढाएको छ ।
बेइजिङ यतिखेर म्यानमारको गृहयुद्धको विषयलाई लिएर चिन्तामा छ भने उसले मध्यस्तताका लागि निकै पहलहरु गरिरहेको छ । पर्यवेक्षकहरुले चीनले म्यानमारमा वर्षौदेखि गर्दै आएको आर्थिक सहयोग र मेलमिलापका लागि चालिएको कदम बेइजिङ्कै सुरक्षा चिन्ताबाट प्रेरित भएको बताएका छन् ।
सात महिनाअघि नेपाल भ्रमणका आएकी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइ येनले नेपाललाई प्रयोग गरेर दुई देशको सम्बन्ध बिगार्ने प्रयास भइरहेको आशंका व्यक्त गरेकी थिईन् ।
काठमाडौंमा हतियार भित्राइएको सो घटना फ्रि–तीब्बत मुभमेन्टको समेत हुनसक्ने बताइन्छ । नेपाल चीन मामिलाका जानकारहरुका अनुसार संयोगले बागबजारमा छापा हानेको केही दिनमै नेपालमा सत्ता फेरबदल भएको थियो । केही दिनअघि मात्रै माओवादी केन्द्रका नेता देव गुरुङलगायतले अमेरिकी सहयोग परियोजना एमसीसीको गतिविधिबारे जाँचबुझ गर्न संसदीय अनुगनम समिति गठन गर्नुपर्ने माग राखेका थिए । गत दुई साता पहिले अमेरिकी सेनाका दुई उच्च अधिकारी नेपाल आएर नुवाकोटसम्म पुगेर फर्केका थिए ।
म्यान्मारमा भड्किरहेको जातीय समूहको विद्रोह र चीन विरोधी फ्रि–तीब्बत मुभमेन्टलाई सहयोग गर्न नेपालहुँदै अवैध हातहतियार ओसार पसार हुने गरेको आशंका छिमेकी चीनले गर्दै आएको छ । दुई वर्षअघि लतिपुरस्थित एक शरणार्थी शिविरमा कालोदिवस मनाउने युवाहरुले हतियार प्रदर्शन गरेका थिए । हालै मात्र लुम्बिनी क्षेत्र कोषको उपाध्यक्ष रहेका ल्यारक्याल लामा अमेरिका भ्रमण गरेलगत्तै फेरि निर्वासित धर्मगुरु दलाई लामा भेट्न भारत पसेको जानकारी प्राप्त भएको छ ।
उता, सो घटनाको जानकारी प्रहरीले तालुकदार मन्त्रालयलाई प्रहरीले नदिएको बुझिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईले यसबारे मन्त्रालयमा कुनै जानकारी नआएको बीमापोष्टलाई बताए ।
सुरक्षामामिलाका ती जानकारका अनुसार भन्सारको स्क्यानरबाट जोगाउन ओसार पसारकर्ताहरुले जानी बुझि लेपन लगाइएको बाकसमा खाद्यान्न राखेर भित्र शंकास्पद बस्तुहरु लुकाउन सक्छन् । उनले भने, ‘हातहतियार ओसार्न प्राय खाद्यान्नका कन्टेनर, ट्रक, बाक्साहरु प्रयोग हुने गरेका छन् । यो सबै सरकारको कमजोरी हो । अन्तरमन्त्रालय समन्वय नहुँदा यस्ता गतिविधिहरु नियन्त्रणमा समस्या छ । भन्सारको जिम्मा अर्थ मन्त्रालयमातहत छ । तर, त्यहाँ गृह मन्त्रालय वा सुरक्षा संयन्त्रको प्रत्यक्ष निग्रानी छैन । भन्सार अधिकारीहरुलाई शंका लागेको अवस्थामा मात्रै अवैध वस्तुहरु समात्ने परम्परा छ । त्यो पनि भन्सार प्रमुख वा कर्मचारी इमानदार भएको अवस्थामा मात्रै । तर, अहिले इमान हराउँदै गएको कर्मचारीतन्त्रलाई अवैध पैठारीकर्ताहरुले सजिलै चक्मा दिनसक्छन् ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको भद्रगोल हेर्दै नेपालको भन्सार व्यवस्थापन कस्तो छ भन्ने थाहा हुने उनले बीमापोष्टलाई बताए । बीमापोष्टले त्रिभुवन विमानस्थल भन्सारको अस्तव्यस्तताबारे यसअघि श्रृंखलावद्ध खोज रिपोर्टहरु प्रकाशन गरिसकेको छ । जुन रिपोटिङले त्रिभुवन विमानस्थलहुँदै अवैध सुनमात्र नभई हातहतियारहरु समेत निर्वाध वित्रिनसक्ने छिद्रहरु पर्याप्त देखाइसकेको छ ।