यूएईमा अलपत्र तथा गैरकानूनी रुपमा बसिरहेकालाई आममाफी, कुनै शुल्क तिर्नु नपर्ने
काठमाडौं । बिना कागजात एवं भिसाको म्याद सकिएर अलपत्र विदेशी नागरिकलाई युनाइटेड इमिरेट्स अरब (युएई)ले आममाफीको अवसर दिएको छ । जसका लागि यूएई सरकारले ६० दिनको समय दिएको छ । योसँगै विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपाली नागरिकले समेत यो आममाफीको लाभ लिन सक्ने भएका छन् ।
बिना कागजात (गैरकानुनी) रूपमा यूएईमा अलपत्र वा लुकेर गरिरहेका विदेशी नागरिका लागि गएको आइतबार अर्थात् १ सेप्टेम्बरदेखि लागू हुने गरी भिसा आममाफी (एम्नेस्टी) सुरु भएको हो । यसबारे आधिकारिक सूचना जारी गर्दै नेपाली दूतावास अबुधाबीले गैरकानूनी रुपमा बसोबास गरिरहेका सबैले यूएई सरकारले दिएको उक्त सुबिधा लिन अनुरोध गरेको छ । आममाफीको अवधिपश्चात् पनि अटेर गरे गैरकानूनी रुपमा बसे सजायको भागिदार हुनुपर्ने दूतावासको सूचनामा उल्लेख छ ।
भिजिट वा रेसिडेन्स भिसा ‘ओभरस्टे’ भएका अथवा अन्य कुनै कारणले गैरकानूनी हुन पुगेकाहरुले तोकिएको ६० दिनभित्र कुनै जरिवाना नतिरी घर फर्किने मौका पाउने छन् । यद्यपि, फौजदारी मुद्दा लागेका तथा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै मुद्दा लागेकाहरूले भने आममाफी पाउन त्यो मुद्धा वा मामिलाबाट छुट्कारा पाएको हुनुपर्ने छ ।
सबै प्रकारका भिसाहरू रेसिडेन्स (कामदार, व्यवसाय, विद्यार्थी वा अन्य) वा भिजिट भिसामा बसेका व्यक्तिले आफ्नो भिसा अवधि समाप्त भएर पनि यूएईमै बस्नु परिरहेको भए यो आममाफीको फाइदा लिन सक्नेछन् । जसको अवधि आगामी अक्टोबर ३१ सम्म तोकिएको छ ।
अध्यागमन प्राधिकरणका कार्यवाहक महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले, ‘भिसा, रेसिडेन्सी, परिचयपत्र, स्थापना कार्डसम्बन्धी आर्थिक जरिवानामा छुट दिँदै लचिलो र सरल प्रक्रियामार्फत अनुग्रह अवधिमा तिनीहरूको अवस्था सुधार गर्न आवश्यक कदमहरू चाल्दै आएको छ,’ भनेका छन् ।
आममाफीमा संलग्नहरू कुनै पनि बेला यूएई आउन सक्ने र अर्थात् प्रतिबन्ध नलाग्ने बताइएको छ । आफ्नो मुलुक फर्कन चाहनेले ट्राभल अनुमति पाएको १४ दिनभित्र यूएई छोडिसक्नुपर्ने भनिएको छ । यूएईमै काम खोजेर बस्न चाहनेले कुनै कम्पनीको अफर लेटर लिई नयाँ भिसा लगाउन सक्नेछन् ।
यूएईमा रेसिडेन्स र टुरिस्ट भिसामा झन्डै ६ लाख नेपाली रहेको अनुमान छ । यूएईमा कति नेपाली गैरकानूनी रुपमा बसिरहेका छन् भन्नेबारे भने यकिन तथ्यांक नेपाली दूतावाससँग नरहेको बताइन्छ ।