राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, सबै बीमालेखमा ६० रुपैयाँ बोनस दिइने
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७०।७१ देखि आव २०७२।७३ सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० रहेको छ । सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृत गरेपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीको बोनसदर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहनेछ ।