अन्ततः हट्ने भए बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल

१९ भाद्र २०८१, बुधबार १८:१४

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा २०८० साल साउन १५ गतेदेखि गैर कानुनी रुपमा अध्यक्ष पदमा रहेर काम गरिरहेका सुर्य प्रसाद सिलवाललाई अन्ततः अर्थ मन्त्रालयले हटाउने तयारी सुरु गरेको छ । यसअघि गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा गैर कानुनी अध्यक्ष सिलवाललाई हटाउने सम्बन्धमा अर्थमन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

अर्थ मन्त्रालयका एक अधिकारीले प्राधिकरणमा गैर कानुनी रुपमा अड्डा जमाएर बसेका सिलवाललाई हटाउने तयारी सुरु गरिएको स्वीकार गरे । यसअघि अर्थमन्त्रालयले गठन गरेको छानविन समितिले अध्यक्ष सिलवालले २०७३ साल साउन १४ गते ५८ उमेर हदका कारण अनिवार्य अवकास लिएकोले सोही आधारमा सरकारी तथ्याङ्कमा कायम जन्म मिति अनुसार २०८० साउन १४ गते ६५ वर्ष उमेर पुरा भएकोले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्य नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम पदमुक्त हुने व्यवस्था अनुसार पदमुक्त गर्नुपर्ने सिफारिस गरेको थियो । सोही प्रतिवेदनको अर्थमन्त्रालयको उक्त मापदण्ड अनुसार अध्यक्ष सिलवालाई पदमुक्त गर्न लागिएको हो ।

नेपाल सरकार अर्थमन्त्रायले अन्य सबै निकायमा ६५ वर्ष उमेर हद पुरा गरेपछि पदमुक्त हुने निर्णय गरेकोमा सुर्य प्रसाद सिलवालको हकमा यसअघि डा. प्रकाशशरण महतको पालामा सेटिङमा पदमुक्त हुने पत्र नदिई त्यतिकै राखिएको थियो । २०८० साउन १५ गतेदेखि सुर्य प्रसाद सिलवालले अबैध रुपमा बीमा प्राधिकरणको अध्यक्षता ग्रहण गर्दै आएका थिए । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । २०८० साउन १६ गते दर्ता भएको उजुरी नं सि ००५०४६ नम्वरको उजुरीमा सुर्य सिलवालले अबैध रुपमा बीमा प्राधिकरणमा उपस्थित भई अध्यक्षको हैसियतमा काम काज गरेकोले पदमुक्त गर्न माग गरिएको थियो ।

सोही उजुरीमाथि अख्तियारले छानविन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयलाई पत्र काटेको थियो । सो पत्रमाथि भएको छानविनमा अर्थ मन्त्रालयले नै अबैध रहेको निष्कर्ष निकालेको छ ।

प्राधिकरणमा अध्यक्ष हुँदा सिलवालले केही गलत धन्दामा लागेका बीमा कम्पनीहरुको संरक्षण गर्दै आएका छन् । पछिल्लो पटक सिलवालले सुर्यज्योति लाइफले बीमितलाई ठगी गर्ने धन्दाको खुलेर संरक्षण गर्दै आएका छन् । त्यस्तै, लघुबीमा कम्पनीहरुलाई व्यवसाय सुनिश्चित गर्न सक्रिय भएर नीति बनाउन उद्यत हुँदै आएका छन् ।

उता, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले भने पद जोगाउन व्यापक दौडधुप सुरु गरेका छन् । बुटवल भ्रमण सकेर काठमाडौं आए लगत्तै उनी एमाले सम्बद्ध नेताहरुमार्फत बालकोटमा सम्बन्ध विस्तार गर्न सक्रिय भएर लागि परेका छन् । बीमा प्राधिकरणमा रहेर करोडौं रुपैयाँ भ्रष्टाचारको आरोप लागेको सिलवाल बीमा प्राधिकरणको अध्यक्षबाट हटिसकेपछि पनि जेल पर्ने सम्भावना जीवितै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*