सूचीकृत कम्पनीका सञ्चालकले छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने निर्णय अव्यवहारिकः नेपाल निर्जीवन बीमा व्यवसायी संघ

१८ भाद्र २०८१, मंगलवार १६:५०

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल धितो पत्र ऐनमा प्रस्ताव गरिएको सूचिकृत कम्पनीमा सञ्चालक बनेका व्यक्तिहरुले कम्पनी छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै ध्यानाकर्षण गराएका छन् । संघले नेपाल धितोपत्र बोर्डमा आज ज्ञापन पत्र बुझाँदै यस्तो माग गरेको हो । संघका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले नेपाल धितोपत्र बोर्डका कामु अध्यक्ष महेश बराललाई ज्ञापन पत्र बुझाएका छन् ।

बीमा कम्पनीसहितका अन्य पब्लिक कम्पनीका संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको धितोपत्र बोर्डको ध्यानाकर्षण गराइएको अध्यक्ष मल्लले बताए ।

निर्जीवन बीमा व्यवसायी संघले धितोपत्र बोर्डमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा उनीहरुमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौ ।’

संघका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, महासचिव महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्यहरु आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र संचालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए ।

संचालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।

‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*