बारामा हजरा खातुन काण्ड ब्यूँतिएपछि एशियन लाइफमा भागाभाग

१८ भाद्र २०८१, मंगलवार ०९:०२

काठमाडौं । बारामा बीमा रकमका लागि हत्या गरिएकी हजरा खातुन काण्ड ब्यूँतिएको छ । उतिबेला घूस सेटिङमा मुद्दा नचल्ने भन्दै तामेलीमा राखिएको केस पुनः ब्यूँतिएर मुद्दामा गएपछि एशियन लाइफमा भागाभाग मच्चिएको छ ।

कम्पनीका चारजना कर्मचारीका विरुद्धमा बारा जिल्ला अदालतले बीमा प्राधिकरण मार्फत पत्र काटेर उपस्थित गराइदिन भनेको छ । जिल्ला सरकारी वकिलको कार्यालय बारा र महान्यायाधिवक्ताको कार्यालय मार्फत सीईओ दिनेशलाल श्रेष्ठलाई भने जोगाउने दुष्प्रयास भएको तथ्य बीमापोष्टलाई प्राप्त भएको छ ।

बीमा प्राधिकरणमा गत साता आइपुगेको पत्रका अनुसार हजरा खातुन हत्या काण्डका दोषीहरूलाई मुद्दा चलाउने क्रममा एशियन लाइफका चार जना कर्मचारीका विरुद्धमा पनि मुद्दा चलाइएको र ती कर्मचारीहरूलाई उपस्थित गराउन भनिएको छ ।

तर हालसम्म पनि एशियन लाइफमा कर्मचारीहरू उपस्थित नभएको बुझिएको छ । हाजिर जमानीमा छोड्ने गरी उपस्थित गराउन भनिए तापनि हालसम्म पनि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले उपस्थित गराउन सकेको छैन । कम्पनीले उपस्थित नगराएपछि बीमा प्राधिकरणलाई पत्र काटेको बुझिएको छ ।

यसअघि बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिवलालले एशियन लाइफका सीईओलाई कारवाही हुन नदिने भन्दै संरक्षण गरेका थिए । तर महान्यायाधिवक्ताको कार्यालयले हजरा खातुनको मुद्दा चलाउनुपर्ने सुझाव दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत बारामा मुद्दा दर्ता गराएको छ ।

मुद्दाको तहकिकातको क्रममा उनीहरूलाई हाजिर जमानीमा उपस्थित गराउनु भन्ने व्यहोराका पत्र बीमा प्राधिकरणमा आइपुगेको छ । प्राधिकरणले पनि एशियन लाइफमा पत्र काटिसकेको छ ।

बाराका नाथु देवानले एयिशन लाइफमा शाखा प्रमुख सोनालाल सहनीको मिलेमतोमा आफ्नै श्रीमती हजरा खातुनको २०७९ भदौं १९ गते हत्या गरेका थिए । सो हत्यापछि २०८० असार ३१ गते एक करोड दुई लाख रुपैयाँ दावी भुक्तानी दिइएको कागजात तयार पारेर सेटलमेन्ट गरिएको थियो । बीमा दावी भुक्तानी गरिएको एक करोड दुई लाख रुपैयाँ मध्ये अध्यक्ष दिपक श्रेष्ठ र सिईओ दिनेशलाल श्रेष्ठको लगानी रहेको गुहेश्वरी मर्चेन्ट बैंकको ऋण तिर्न भन्दै ५० लाख रुपैयाँ रकमान्तर गरिएको थियो भने २२ लाख ५६ हजार रुपैयाँ बीमा अभिकर्ताको खातामा सिधैं रकमान्तर गरिएको थियो । पैसाको लागि श्रीमतीको हत्या गराएका नाथु देवानले एक रुपैयाँ नपाएपछि घटनाको पदार्फास हुन पुगेको थियो ।

सो काण्डमा एशियन लाइफका लेखा प्रमुख लगायत चार जनालाई मुद्दा चलाउने निर्णय भई जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ भने सिईओ दिनेशलाल श्रेष्ठलाई उन्मुक्ति दिइएको छ ।

उता एशियन लाइफमा अहिले भागाभाग मच्चिएको छ । त्यस्तै लेखा प्रमुख कमल ढुंगानाले गत साउनबाट नै लागू हुने गरी राजीनामा दिएर भागिसकेका छन् । कम्पनीका अन्य कर्मचारीहरू पनि तनावमा परेका छन् । *सम्पादित ।

बीमितको हत्या गरी बीमा रकम बाँडचुड, बीमा कम्पनीदेखि बीमा अभिकर्तासम्मलाई भागबण्डा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*