१७ म्युचुअल फन्डले लाभांश घोषणा, कुनको कति ?

१७ भाद्र २०८१, सोमबार ११:५८

काठमाडौं । म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही फन्डले इकाइधनीको बैंक खातामा पठाइसकेका छन् भने केहीको इकाइ खरिद गर्दा अझै पनि लाभांश हकदार रहन्छ ।खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् । १४ बन्दमुखी योजनामध्ये १० योजना खरिद गर्दा अझै लाभांश पाउने अवसर छ ।

बुक क्लोजको अघिल्लो दिनसम्म योजना खरिद गर्दा लाभांश पाइन्छ । सात योजनाको अझै बुक क्लोज मिति तय भइसकेको छैन भने तीन योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को भदौ २३ तथा कुमारी इक्वीटी र कुमारी धनवृद्धिको भदौ १९ गते बुक क्लोज मिति तय भएको छ ।

एनआईसी एसिया डायनामिक डेब्ट, कुमारी सुनौलो योजना र शुभलक्ष्मी कोष लाभांश घोषणा भएका खुलामुखी योजना हुन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा यी योजना खरिदबिक्री हुँदैन ।

खुलामुखी योजना खरिदबिक्री गर्दा नेट एसेट्स भ्यालु (एनएभी)मै हुन्छ । यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट हितग्राही खातामा जम्मा गर्दै लगिन्छ ।

हालसम्म एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् । उनीहरुले ४.५ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।
म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण ः यदि कुनै म्युचुअल फन्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

१ हजार कित्ता होल्ड गरेको व्यक्तिले १२ प्रतिशत लाभांश घोषणा हुँदा १२ सय रुपैयाँ नगद प्राप्त गर्दछ । प्रतिइकाइ १० रुपैयाँमा सर्वसाधारणबाट रकम जुटाएर म्युचुअल फन्डले विभिन्न कम्पनीका सेयर, ऋणपत्र, निक्षेपमा लगानी गर्दछन् । सोही लगानीबाट आउने नाफाबाट वार्षिक रुपमा इकाइधनीलाई लाभांश प्रदान गर्दछन् ।

सेयर बजारमा लगानीबारे जानकारी नहुने, समय दिन नसक्नेलाई म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ । अंकित मूल्य १० रुपैयाँ रहने गरे पनि केही योजना दोस्रो बजारमा १० रुपैयाँभन्दा तल कारोबार भइरहेका छन् । बन्दमुखी योजनाको बजार मूल्य र नेट एसेट्स भ्यालु फरक पर्न सक्छ ।म्युचुअल फन्डका योजनाको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ)अनुसार बजार मूल्य घटबढ हुने गर्दछ ।

कुन कुन म्युचुअल फन्डले घोषणा गरे लाभांश ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*