मंसिर नकट्दै नयाँ सत्तासमीकरण बन्ने संकेत, कांग्रेस ‘किकआउट्’

१७ भाद्र २०८१, सोमबार १०:०२

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफु साढे दुई वर्ष पदमा रहने र त्यसको हप्तादिन अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई कुुर्सी सुम्पिने भनी दिन गणना गरिरहेको बताइए पनि आगामी मंसिर नकट्दै नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ । नयाँ समीकरण बन्दा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस नै आउट हुने बताइँदै छ ।

कांग्रेस केन्द्रीय समिति बैठकको ‘गठबन्धन’ शब्दरहितको निर्णय र केही वाह्य एवं आन्तरिक डेभ्लपमेन्टले मंसिर नकट्दै नयाँ सत्ता समीकरणको संकेत गरेको हो । हाल प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताले कांग्रेस महासमिति बैठकको निर्णय आउनु अगावै खोलेको गुप्त तथ्यलाई आधार मान्ने हो भने मंसिर नकट्दै नयाँ सत्ता समीकरणको ज्वार उठ्ने पक्का छ ।

बीमापोष्टसँग उनले भनेका छन्, ‘मंसिर नकट्दै नयाँ सत्ता समीकरण निर्माण हुन्छ । यो सिरियसली टिपोट गरिरहनुहोस् । र, यो प्रमाणित भएन भने मलाई डाँडा कटाइदिए हुन्छ ।’ उनका अनुसार त्यो समीकरणले कांग्रेसलाई सत्ताबाहिर राख्नेछ । नयाँ सत्ता समीकरणमा को-को सहभागी हुन्छन् ? प्रश्नमा उनले ‘यसलाई केही समय गोप्य राखौँ’ भने ।

नभन्दै कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचनपूर्व गठबन्धन गर्न नहुने भनी निर्णय लिनु र एमालेसँगको सहकार्य खुकुरीको धारको यात्रा भन्नुलाई अर्थपूर्ण रुपमा हेरिनुपर्ने राजनीतिक मामिलाका जानकारहरुले बताएका छन् ।

राजनीतिक मामिलाका जानकार पुरन्जन आचार्यले नेपालको राजनीतिक अवस्थालाई कसैले अनुमान गर्न सक्दैन, जतिबेला जे पनि हुनसक्छ, भने । उनले अगाडि भने, ‘विधि, पद्दती र इमानमा चल्नेहरुबारे अनुमान वा अड्कल गर्न सकिन्छ । अस्थिर तथा अप्रतिवद्ध नेपाली राजनीतिक दल तथा नेताहरुबारे गरेका अनुमान फेल खान्छन् । जहाँसम्म नयाँ सत्ता समीकरणको कुरा छ, त्यो हुनसक्छ । नेपालमा सत्ता परिवर्तन के नौलो कुरा हो र ? श्रीमतीलाई च्यापेर कुर्सीमा राख्नेहरुको भर हुन्न ।’

एमालेसँगको सत्तासहकार्य कांग्रेसका लागि चुनौतिपूर्ण रहेको निचोड कांग्रेसका बहुमत नेताहरुले निकालेका छन् भने महामन्त्री विश्वप्रकाश शर्माले आलोपालो प्रधानमन्त्रीको सहमतिमा पार्टी सभापति देउवाले आफु त्याग गरी नदोहोरिएका अनुहारलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नु पर्ने प्रस्ताव राखेका छन् । जुन प्रस्तावमा देउवाले तीव्र असन्तुष्टि जनाए ।

कांग्रेसभित्रको आन्तरिक लफडाले समेत नयाँ सत्तासमीकरणमा कांग्रेस बाहिरिने संकेत गर्छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेको भनाइले पनि एमालेसँगको सत्तासहकार्य कठिन रहेको र नयाँ डेभ्लपमेन्ट हुनसक्नेतर्फ इंकित गर्छ । बीमापोष्टसँग उनले भने, ‘हामीले एमालेसँगको सहकार्य र प्रतिस्पर्धाको सीमा स्पष्ट हुनुपर्छ भनेर भनेका छौँ । नभए हामी निकै जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । यत्तिकैमा ढुक्क भयौँ भने जतिबेला जुनसुकै दुर्घटना हुनसक्छ ।’

कांग्रेसलाई नयाँ सत्ता समीकरणको फनक लागिसकेको भए पनि देउवाको हठका कारण केन्द्रीय समिति बैठकले मध्यमार्गी निर्णय लिएको बताइँदै छ । संस्थापन र महामन्त्रीद्वय थापा र शर्माले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्न मिल्ने गरी गठबन्धन शब्दै कतै प्रयोग नगरेर संगठन संरचना बलियो बनाउन सत्ता नभई पार्टी केन्द्रित भएर अघि बढ्नु पर्ने र आफ्नै तागतमा एक्लै निर्वाचन लड्नु पर्ने प्रस्ताव राखेकामा बैठकले मध्यमार्गी निर्णय लिएको हो ।

महिला प्रधानमन्त्री ‘कार्ड’
परराष्ट्रमन्त्री एवं देउवा पत्नी आरजु राणाको भारत भ्रमण लगत्तै ८ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु’ भने । प्रधानमन्त्री ओलीको ‘महिला प्रधानमन्त्री पत्ता’लाई अधिकांशले भारत भ्रमण गरेर फर्किएकी परराष्ट्रमन्त्री आरजु देउवासँग जोडेर हेरे । र, अहिले पनि धेरैले आरजु प्रधानमन्त्री बन्ने भइन्, ओलीले जे पनि गर्छन्, जस्ता तर्कहरु गरिरहेका छन् ।

काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीहरुले सोधेका प्रश्नको जवाफ दिँदै ओलीले, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, भनेका थिए ।

त्यसको अर्थ उनले आरजु राणा वा अन्य कुनै पार्टीका महिला नेतृ वा सांसदलाई प्रधानमन्त्री बनाउँछु भनेका होइनन् । एमाले सांसद रघुजी पन्तका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रबाट महिला प्रधानमन्त्री बनाउने कुरा गरेका हुन् । बीमापोष्टसँग पन्तले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्रैबाट महिला प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको हो । उहाँले त्यसरी सार्वजनिक रुपमा बोल्नु भन्दा अघि पार्टीको आन्तरिक छलफलमा यो कुरा गर्नु भएको थियो । अन्य पार्टीको महिलालाई प्रधानमन्त्री बनाउनु पर्ने के जरुरी छ र ? उहाँले एमालेबाटै नेपालको पहिलो महिला राष्ट्रपति बनाइएको र पहिलो महिला प्रधानमन्त्री पनि एमालेबाटै बनाउने तयारी थालेको कुरा सुनाउनु भएको हो ।’

नयाँ सत्ता समीकरणमा एमालेबाट महिला प्रधानमन्त्री बन्ने तहका व्यक्ति देखिँदैनन् । परिवर्तनका दौरान भन्न सकिँदैन, मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि कतै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पो हुने होइनन् ? भन्ने अनुमान गर्न थालिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*