सूर्यज्योति लाइफका कर्मचारीलाई प्रदेश प्रमुखको धम्की, ‘सिईओ खत्रीको अगाडि मुख देखाउन लायक रहेनौं’

१६ भाद्र २०८१, आईतवार १२:२७

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहन पुरीले मातहत कैलाली, कञ्चलनपुर, डोटी, डडेलधुरा, धनगढी लगायतका कर्मचारीहरूलाई रातिको १२ बजे गाली गर्ने गरेको तथ्य भेटिएको छ । प्रदेश प्रमुख पुरीले सिईओ प्रकाश बिक्रम खत्री र सिबिओ परशुराम मरासिनीको नाम लिँदै मातहतका शाखा प्रमुख तथा कर्मचारीहरूलाई सिईओ अगाडि अनुहार देखाउन समेत लायक नभएको भन्दै गाली गलौज गरेको गुनासो पीडित कर्मचारीहरूले गरेका छन् ।

सुदूरपश्चिम टिमका कर्मचारीहरूलाई बीमा व्यवसाय गर्न कठिन भइरहेको समयमा उत्साह छर्नुको साटो बीमा पोलिसी नकाटी घर नजान भन्दै मानसिक दबाब दिएका छन् । उनले आन्तरिक ग्रूप भित्र सर्कुलर जारी गर्दै ‘आज पनि बीमा पोलिसी नकाट्नेहरू घर जान लायक नरहेको र नहुने’ भन्दै सम्पूर्ण कर्मचारीहरूलाई मानसिक दबाब दिएका छन । प्रदेश प्रमुख पुरीले बिहान ६ बजेदेखि रातिको १२ बजेसम्म जुनसुकै बेला आफूलाई जे लेख्न मन लाग्यो त्यै कुराहरू ग्रूपमा लेख्दै कम्पनीको प्रदेश नं ७ को ग्रूपमा धम्कीपूर्ण भाषा प्रयोग गरेर दबाब दिने गरेको खुलेको छ ।

प्रदेश प्रमुख पुरीले कर्मचारीहरूलाई आफूले दिएको टार्गेट नपुगे राम्रो नहुने धम्की दिएको पीडित कर्मचारीहरूले बीमापोष्टर्लाइ गुनासो गरेका छन् । कम्पनीका चिफ बिजनेश अफिसर परशुराम मरासिनी र सिईओ प्रकाश बिक्रम खत्रीको नाम लिएर प्रदेश प्रमुख पुरीले कर्मचारीहरूलाई मध्यरातिसम्म मानसिक दबाब दिने गरेको पाइएको छ । पुरीले जागिर खाने भए जहाँसुकैबाट व्यवसाय ल्याएर बीमा पोलिसी काट्न दबाब दिएको ती पीडित कर्मचारीहरूको भनाई छ ।

उनले कम्पनी भित्रको आन्तरिक ग्रूपमा सिईओ खत्री र सिबिओ मरासिनीका अगाडि मुख देखाउन लायक नभएको भन्दै कर्मचारीलाई तर्साउने गरेका छन् । बीमाको सिद्धान्त तथा कर्पोरेट कल्चर विपरीत सूर्यज्योति लाइफका कर्मचारीहरुले रातिराति मातहतका कर्मचारीहरूलाई दबाब दिएको घटनाले नेपाली बीमा क्षेत्रमा चरम विकृति र श्रम शोषण रहेको तथ्य उजागर गरेको छ ।

पीडित कर्मचारीहरूले सूर्यज्योतिका सुदूरपश्चिम प्रदेश प्रमुख पुरीले श्रम ऐनको ठाडो उल्लघन गर्दै बिदाको दिन र अतिरिक्त समय अफिसकै काममा लाग्न दबाब दिने गरेकामा समेत आपत्ति जनाएका छन् । कम्पनीका सिईओ र सिबिओको नाम भजाएको विषयमा पनि कर्मचारीहरूले आश्चर्य व्यक्त गरेका छन् ।

रोल्पामा जन्मेर हाल दाङको घोराहीमा स्थायी बसोवास गर्ने पुरी तत्कालीन ज्योति लाईफ हुँदै हालको सूर्यज्योतिको प्रदेश प्रमुख बनेका हुन् । तत्कालीन ज्योति लाईफका एरिया प्रमुख भएकै बेला उनले त्यहाँका कर्मचारीलाई तनाव दिएको भन्दै तत्कालीन शाखा प्रमुखले उनी माथि हातपात समेत गरेका थिए ।

कम्पनी मर्ज भएपछी राप्ती रिजनका रिजनल मेनेजर भएका पुरीको कार्यसम्पादन सन्तोषजनक नभएपछि सरूवा गरी उनलाई सुर्खेत पठाइएको थियो । सुर्खेतमा पनि उनको कार्यसम्पादन मूल्याकन अत्यन्तै न्यून रहेको बताइन्छ । सुर्खेतमा हुँदा स्वैच्छिक अवकास सुविधामा राजीनामा दिएका पुरीले पुनः कम्पनी भित्रै जागिर खान शुरू गरेका थिए । यही श्रावण २०८१ सुपमा उनको आतंक शुरू भएपछि कर्मचारीहरू निराश हुन पुगेका छन् ।

स्रोतका अनुसार पुरीलाई कम्पनीका सिईओ खत्रीले संरक्षण गर्दै आएका छन् । सो सम्बन्धमा मोहन पुरीसँग सम्पर्क गर्दा आफूले कसैलाई त्यस्तो नगरेको र जसले गुनासो गरेको हो सोही कर्मचारीलाई आफूसँग सम्पर्क गर्न भनिदिनू भन्ने जवाफ दिए । उनले भने, ‘त्यस्तो छैन, जसले तपाईहरूलाई रिपोर्टिङ गरेको हो उहाँलाई नै मलाई फोन गर्न भनिदिनू होला ।’

One thought on “सूर्यज्योति लाइफका कर्मचारीलाई प्रदेश प्रमुखको धम्की, ‘सिईओ खत्रीको अगाडि मुख देखाउन लायक रहेनौं’

  1. agni paneru says:

    अरु पनि उदाहरण छन् बिस्तारै तपाईंहरू साथ रिपोर्ट आउँछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*