बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’ निर्माणमा गर्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताएका छन् । लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिलवालले नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई सुझाव दिए । उनले बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’ निर्माणमा लाग्न आग्रह गर्नुहुँदै विपद्लाई बीमासँग जोडेर काम गर्दा बढी आर्थिक सुरक्षण प्रदान गर्न सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने जनाए । उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्नुहुँदै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो तुल्याउन प्राधिकरणले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले नागरिकले बीमा सेवा सुविधा सजिलै प्राप्त गरेमा बीमाप्रतिको विश्वास बढ्ने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र बीमा दाबी भुक्तानी समयमैं दिनुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया, बीमा क्षेत्रको विद्यमान अवस्था र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमितले समयमैं दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, जीवन बीमा नवीकरण गर्न ढिला भएमा कम्पनीले धेरै ब्याज लिने गरेको, विदेशी बीमा कम्पनीमा बीमा गर्ने प्रचलन अझै पनि नहटेको लगायतका जिज्ञासाहरू राखेका थिए ।
बीमा अभिकर्तालाई बढी जिम्मेवार बनाउनुपर्ने र कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता उहाँहरूले औंल्याए । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योन्स लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।