प्रख्यात चिनिया ब्राण्ड जोइलोङ्ग तथा एसआरएमको गाडी नेपाली बजारमा

११ भाद्र २०८१, मंगलवार १०:०२

काठमाडौँ । भिजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चीनिया विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरू नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त गाडीहरू सार्वजनिक गरिएको हो ।

जोइलोङ्ग तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ । हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएको हुँदा कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्भिस तथा पार्ट पुर्जा उपलब्धतामा सहजता नपाउने सम्भावना देखिन्छ । यसलाई मध्यनजर गर्दै भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्व स्तरीय गुणस्तरमा आफैँले गाडी उत्पादन गर्ने कम्पनीहरू जोइलोङ्ग तथा एसआरएमका गाडीहरू नेपालमा भित्र्याएको जनाएको छ । यसले कमर्सियल गाडी खरीद पश्चात् आगामी १५÷२० वर्षसम्म यी कम्पनीहरूले सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ ।

जोइलोङ्ग कम्पनीका ठूला १५÷१७÷२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक ज्याङ्गले भने ‘जोइलोङ्गका ठूला माइक्रो बसहरू वर्षौं देखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरि डिजाइन गरिएको हुन्छ । जस्तोसुकै बाटोमा चलाउन सकिने गरी डिजाइन गरिएको छ । हाल जोइलोङ्गका गाडीहरू विकसित मुलुक जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरूमा अत्याधिक रुचाइएका हुन् ।’ बजारमा उपलब्ध अन्य गाडीहरू भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफूल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ्गले बताए ।

उक्त पत्रकार सम्मेलनमा भिजि मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरूमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।

हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदूषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने दाबी कम्पनीको छ ।

कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले ‘साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए तापनि एसआरएम कम्पनीबाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएस जस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको छ ।’

अन्य चिनीया कम्पनीको तुलनामा निजि क्षेत्रबाट प्रबर्द्धित गरिएको कम्पनी एसआरएम हो । आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नयाँ मोडलहरू ल्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भिजि मोटर्सको सहकार्यबाट नेपाली बजारमा सबैभन्दा उत्कृष्ट बिक्री पश्चातको सेवा ग्राहकले पाउने कम्पनीको दाबी छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै भिजि मोटर्सका सीइओ विवेक बिजुक्छेले ‘कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडी पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नुभन्दा निजि क्षेत्रले आफैँले चार्जिंङ्ग स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा, भिजि मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ्ग स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’ उनले सम्पूर्ण ग्राहकलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्न अनुरोध समेत गरे ।

कार्यक्रममा बिक्री शुरूवात गरिएको जोइलोङ्ग मोडलका विवरणः
जोइलोङ्ग इए ४ ,१५ सिटर (रु. ६४ लाख, ८६ किलो वाट÷आवर)
जोइलोङ्ग इए ५, १७ सिटर (रु. ६० लाख, ६० किलो वाट÷आवर )
जोइलोङ्ग इए ६, २० सिटर (रु. ७६ लाख, किलो वाट÷आवर)

एसआरएमका मोडलका विवरणः
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट÷आवर )
एसआरएम २ सिटर कार्गो (रु. ३८ लाख, ४२ किलो वाट÷आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट÷आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट÷आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट÷आवर )

भिजी मोटर्सको मुख्य उद्देश्य बिक्री पश्चातको सेवा रहेको र यसबाट ग्राहकको अपेक्षाभन्दा माथि उठ्नु भएको कम्पनीले बताएको छ । विशाल ग्रूपको सहायक कम्पनी भिजि मोटर्सले नेपालमा अत्याधुनिक अटोमोबाइल साधनहरू बिक्री वितरण गर्दै आइरहेको छ । नवीनता र दीगोपनालाई अघि बढाउने प्रतिबद्धताका साथ भिजि मोटर्सले विश्वस्तरीय इलेक्ट्रिक गाडीहरू प्रस्तुत गरेर देशको यातायात क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको कम्पनीको दाबी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*