शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक
काठमाडौं । शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक भएको छ ।
एक वर्षमा निजी क्षेत्रमा जाने कर्जा जम्मा ५.८ प्रतिशतले बढ्दा सेयर धितो कर्जा भने १८.१ प्रतिशत बढेको छ । अर्थात गत आर्थिक वर्ष वृद्धि भएको सेयर धितो कर्जा पनि तुलनात्मक रुपमा उच्च छ । गत आर्थिक वर्ष २०८०÷८१ असार मसान्तसम्म सेयर धितोमा कुल ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९÷८० सम्म ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
सेयर धितो कर्जामा पनि ठूला ऋणी आक्रामक देखिन्छन् । सबैभन्दा ठूलो १ करोडमाथिको कर्जा प्रवाह २५.१ प्रतिशत बढेको छ । कुल सेयर धितो कर्जामा १ करोडमाथिको कर्जा मात्रै ५५ अर्ब ९३ करोड रुपैयाँ अर्थात् ६२ प्रतिशत छ ।
त्यस्त,ै ५० लाखमाथिको कर्जा प्रवाह एक वर्षको अवधिमा ५.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ४२ करोड रुपैयाँ छ ।
२५ देखि ५० लाखसम्मको कर्जा प्रवाह १२.८ प्रतिशत बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा ३.९ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म यस्तो कर्जा ७ अर्ब ३१ करोड रुपैयाँ छ ।