अर्थमन्त्रालयको छानविन समितिले भेट्यो बीमा प्राधिकरणका अध्यक्ष सिलवालका तीनथरी नागरिकता, २०८० साउन १५ गते यताका काम कारवाही के होला ?

११ भाद्र २०८१, मंगलवार ०८:२१

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको तीनथरी नागरिकता प्रयोग भई अनाधिकृत रुपमा पदमा कार्यरत रहेको अर्थमन्त्रालयले ठहर गरेको छ । गत वर्ष साउन १६ गतेदेखि यता पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको प्रमाणसहितका उजुरी तथा सो सम्बन्धमा अर्थमन्त्रालयले गरेको छानविनबाट प्राधिकरणका अध्यक्ष सिलवालको तीनथरी नागरिकता भेटिएको तथ्य उजागर भएको छ ।

अर्थमन्त्रलयले गठन गरेको छानविन समितिले सुर्य प्रसाद सिलवालको नागरिकतामाथि छानविन गर्दा उनले नेपाल सरकारको निजामति सेवामा जागिर खाँदा पेश गरेको पहिलो कागजात र कर्मचारी सिटरोलमा समेत २०१५ साल साउन १५ गते जन्ममिति उल्लेख भएको छानविन प्रतिवेदनले औल्याएको छ । तर, हाल अध्यक्ष सुर्य प्रसाद सिलवालले २०१६ साल कार्तिक २२ गते जन्म मिति भएको नागरिकता बोकिरहेका छन् ।

पर्सा जिल्ला प्रशासन कार्यालयबाट काठमाडौंमा सारिएको उनको नागरिकता सम्बन्धी कागजात पटक पटक सच्याइएको थियो । २०७३ सालमा सचिव हुनुअघि उनको नागरिकतामा जन्म मिति २०१८ साल कार्तिक २४ गते भएको नागरिकता बोक्दथे । सोको तथ्य राहदानी विभागमा पासपोर्ट बनाउँदा पेश गरेको नागरिकताबाट भेटिएको छ । उनको नागरिकताको जारी मिति २०३३ फागुन २४ गते पर्सा जिल्ला हो ।

 

बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सरकारी रेकर्डमा रहेको जन्ममिति २०१५ साउन १५ को आधारमा २०७३ साल साउन १४ गते आपूर्ति मन्त्रालयको सचिवबाट ५८ वर्षे उमेर हदका कारण भएको थियो ।

अर्थमन्त्रालयको सार्वजनिक संस्थान नियुक्ती सम्बन्धी मापदण्ड अनुसार ६५ वर्ष उमेर पुगेपछि स्वतः अवकासमा जानुपर्ने कानुनी व्यवस्था छ । सो तथ्य र प्रमाणको आधारमा सुर्य सिलवालको पदावधी २०८० साउन १४ गते अन्तिम दिन हो । बीमापोष्टले सिलवालको पदावधी सकिएकै दिन पदावधी सकिएको भन्दै समाचार प्रकाशित गरेको थियो ।

अहिलेसम्म सबै सार्वजनिक निकायमा ६५ वर्ष पुगेपछि अवकास पत्र दिने गरिएको छ । अर्थमन्त्रालयले पनि अन्यत्र ६५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकास दिने गरेकोमा सुर्य सिलवालको हकमा भने अर्थमन्त्रालय समेत मौन रहँदै आएको थियो । लघुबीमाको लाइसेन्स वितरणमा यसअघिका अर्थमन्त्रीहरु घुस सेटिङमा चलेकोले हटाउन सकेका थिएनन् । अर्थमन्त्रालयले गरेको छानविन समितिले सिलवाललाई अध्यक्ष पदमा थप बहाल राख्न नसक्ने गरी प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनको आधारमा अब कुनै पनि नैतिकता र कानुनी रुपमा पदमा बहाल रहनु अनुपयुक्त हुन्छ ।

अबैध व्यक्ति अध्यक्ष रहेकै कारण २०८१ बैशाख देखि अर्थमन्त्रालयबाट बीमा प्राधिकरणमा प्रतिनिधित्व गर्ने सह सचिव नारायण रिसाल बीमा प्राधिकरणको बैठकमा सहभागी भएका छैनन् । अर्थमन्त्रालयले गरेको छानविन समितिको अध्ययन प्रतिवेदनको आधारमा उनको पदावधी सकिएको र अबैध अध्यक्ष मातहतको बैठकमा सहभागी नहुने भन्दै सञ्चालक समितिको बैठकमा सहभागी भएका छैनन् ।

गत बैशाखको पहिलो साता बसेको एक बैठकमा सञ्चालक रिसाल पदावधी सकिएको व्यक्तिले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन नसक्ने भन्दै बाहिरिएका थिए । सो दिनको झगडापछि अर्थका प्रतिनिधि बीमा प्राधिकरणको सञ्चालक समितिको कुनै पनि बैठकमा सहभागी छैनन् ।

आफ्नै तालुकदार मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले अबैध अध्यक्ष भन्दै बैठक बहिस्कार गरिसकेपछि पनि सिलवाल भने बीमा प्राधिकरणको अध्यक्ष भनेर काम गरिरहेका छन् ।

अर्थमन्त्रलाय स्रोतका अनुसार अब उनले २०८० साउन १६ गतेदेखि खाइपाइ आएको तलव के गर्ने ? र त्यसयता उनले गरेका काम कारवाहीलाई कसरी हेर्ने भन्ने निर्णय गर्न बाँकी रहेको छ । विश्वस्त स्रोतका अनुसार अध्यक्ष सिलवाललाई अख्तियारले भने जोगाउँदै आएको छ । प्रमुख आयुक्त प्रेम राई अध्यक्ष सिलवालका मुख्य संरक्षक हुन् । अर्थमन्त्रालयले नै पटक पटक २०८० साउनदेखि यता खाएको तलव अबैध भएकोले भ्रष्टाचारमा मुद्दा चलाउन आग्रह गरेपनि प्रमुख आयुक्त राई मौन रहँदै आएका छन् ।

२०७७ साल माघ १९ मा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले नै तत्कालिन बीमा समितिको अध्यक्ष सिलवाललाई नियुक्त गरेका थिए । तर, पछि सिलवालले वर्तमान अर्थमन्त्री पौडेललाई लघुबीमाको लाइसेन्समा धोका दिएका थिए ।

अब के हुन्छ ?
नेपालको प्रचलित कानुन, कानुनी अभ्यास अनुसार सुर्य प्रसाद सिलवालको पदावधी २०८० साउन १५ गतेबाटै सकिएको छ । सो आधारमा त्यसयता, उनले बुझेका भत्ता, तलव तथा अन्य सुविधाहरु भ्रष्टाचार जन्य कार्य हुन् । अख्तियारमा इमान्दार व्यक्ति प्रमुख आयुक्त भएर आएका बखत वा वर्तमान प्रमुख आयुक्त प्रेम राईले नै चाहेको खण्डमा कुनै पनि बेला भ्रष्टाचारमा मुद्दा चलाउन सक्नेछन् । तर, पछिल्लो समय प्रेम राई आफै अप्ठेरोमा परेका छन् । राईलाई एभरेष्ट होटलमा चार जना व्यक्ति मिलेर गरेको डिल काण्डले अप्ठेरोमा पर्ने भएकोले उनीबाट यस्तो आशा गर्न सकिदैन ।

One thought on “अर्थमन्त्रालयको छानविन समितिले भेट्यो बीमा प्राधिकरणका अध्यक्ष सिलवालका तीनथरी नागरिकता, २०८० साउन १५ गते यताका काम कारवाही के होला ?

  1. Astaman tamang says:

    नेपाल सरकारको नुन पानी खाएको कुनै बेक्ती किर्ते अपराधिक कर्मबाटा चोखो देखिएन नारायणा ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*