१४ जीवन बीमा कम्पनीको कुल दाबी भुक्तानी ७० अर्ब माथि, कुन कम्पनीको कति?
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले गत वर्ष ७० अर्ब १४ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । अघिल्लो वर्ष कम्पनीहरूले ६० अर्ब २ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष कुल दाबी भुक्तानी १६.८७ प्रतिशतले बढेको हो ।
जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानी बढ्दै जाँदा बीमितहरूमा विश्वास बढ्दै जाने हुन्छ भने अनाधिकृत रूपमा ह्वात्तै बढ्दा कम्पनीको जोखिमाङक्न समेत उत्तिकै बढ्ने सम्भावना रहन्छ । तर जीवन बीमा कम्पनीहरूको बीमा दाबी भुक्तानी उत्तरदायित्व पनि रहेको हुन्छ । बीमितहरूले कम्पनीमा सीमित बीमाङ्कीय रकमको बीमा गराइसकेपछि बीमा अवधि परिपक्व भइसकेपछि वा सो अगावै मृत्यु भएको खण्डमा दाबी भुक्तानी गर्नुपर्ने कम्पनीको उत्तरदायित्व रहन्छ ।
गत आवमा नेपाल लाइफले सर्वाधिक कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले रू. १४ अर्ब ९९ करोड बढीको दाबी भुक्तानी गरेको हो । यद्यपि यो अघिल्लो आवको तुलनामा ४.४३ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले रू. १५ अर्ब ६९ करोडभन्दा बढीको दाबी भुक्तानी गरेको थियो ।
दोस्रोमा एलआईसी नेपालले रू. १० अर्ब ८९ करोड बढीको दाबी भुक्तानी दिएको छ । यो अघिल्लो आवको तुलनामा २१.२१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ८ अर्ब ९८ करोडको दाबी भुक्तानी गरेको थियो । त्यसैगरी हिमालयन लाइफले रू. ५ अर्ब ९९ करोड, सानिमा रिलायन्सले रू. ५ अर्ब ५४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले रू. ५ अर्ब २५ करोड, एशियन लाइफले रू. ४ अर्ब ६६ करोड र सूर्यज्योति लाइफले रू. ४ अर्ब ५ करोडको दाबी भुक्तानी दिएको छ ।
यता मेट लाइफले रू. ३ अर्ब २३ करोड, सिटिजन लाइफले रू. १ अर्ब ८२ करोड, रिलायबल नेपाल लाइफले रू. १ अर्ब २८ करोड, आईएमई लाइफले रू. १ अर्ब २३ करोड, सन नेपाल लाइफले रू. १ अर्ब २२ करोड र प्रभु महालक्ष्मी लाइफले रू १ अर्ब ७ करोडबढीको कुल दाबी भुक्तानी गरेको छ ।
वृद्धि प्रतिशतको आधारमा हेर्दा १२ वटा कम्पनीहरूको कुल दाबी भुक्तानी बढेको छ भने दुईवटा कम्पनीहरूको घटेको छ । नेपाल लाइफको ४.४३ र सिटिजन लाइफको ३.८४ प्रतिशतले घटेको छ ।
यता सूर्यज्योति लाइफको सर्वाधिक ९७.३१ प्रतिशतले दाबी भुक्तानी वृद्धि भएको छ भने सानिमा रिलायन्सको ८३.२७ प्रतिशतले बढेको छ । एशियन लाइफको ५९.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २५.५२ प्रतिशत र सन नेपाल लाइफको २३.८६ प्रतिशतले बढेको छ ।
त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीको २२.४८ प्रतिशत, एलआईसी नेपालको २१.२१ प्रतिशत, मेट लाइफको १२.९९ प्रतिशत, आइएमई लाइफको ६.७६ प्रतिशत, हिमालयन लाइफको ६.५० प्रतिशत, नेशनल लाइफको ५.४२ प्रतिशत र रिलायबल नेपाल लाइफको २.४१ प्रतिशतले दाबी भुक्तानी वृद्धि भएको छ ।