बीमाको औचित्य र आवश्यकता बढ्दो: साक्षरता र जागरणमा कमजोर
बीमा शब्दको उत्पत्ति ४ हजार ५०० ईसापूर्वतिर बेबिलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने गरिए पनि औपचारिक रूपमा पहिलो जीवन बीमाको शुरूआत सन् १५८३ मा लन्डनमा विलियम गिब्वन्स नाम गरेका सामुद्रिक क्याप्टेनको जीवनमा बीमालेख जारी गरेपछि भएको पाइन्छ ।
सन् १८८४ मा जर्मनीमा स्वास्थ्य बीमा शुरू गरेर सामाजिक सुरक्षाको थालनी गरिएको थियो भने बेलायतमा सन् १९०८ मा राष्ट्रिय बीमा कानून लागू गरिएको पाइन्छ ।
प्राचीनकालमा विश्वका धेरै स्थानमा अविकसित रूपमा थुप्रै बीमाका अभ्यास भएको पाइन्छ । भारत, ग्रीस, चीन, इटालीजस्ता प्राचीन सभ्यताहरूमा पनि बीमाका अभ्याशहरू भएको पाइन्छ । नेपालमा पनि बीमा लिच्छवीकालदेखि नै प्रचलनमा आएको पाइन्छ ।
प्राचीन बीमाको अभ्यास नेवारी समाजमा प्रचलित गुठी परम्पराबाट भएको देखिन्छ । स्मरण रहोस्, विसं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएपछि पनि सबै प्रकारका बीमा भारतीय बीमा कम्पनीमार्फत हुने गरेको थियो । बैंकिङ प्रणालीमा आयात र निर्यात हुने सामान तथा धितो राखेको वस्तुको सुरक्षाका लागि बीमा अपरिहार्य थियो । तसर्थ पनि भारतीय बीमा कम्पनीमा निर्भर हुनुपर्ने अवस्था थियो ।
सामाजिक बीमा, सामाजिक सहायता र श्रम बजारमा हस्तक्षेपजस्ता सामाजिक सुरक्षाका विभिन्न तरीकामध्ये सामाजिक सुरक्षाको नाममा सामाजिक बीमाको अभ्यास नेपालमा विसं १९९३ बाट सैनिक द्रव्यकोषको स्थापना भएसँगै शुरू भएको हो । नेपालमा विसं २००४ असोज ८ गते नेपाल बैंक लिमिटेडको अग्रसरतामा नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना भएसँगै निर्जीवन बीमा व्यवसायको शुरूआत भएको पाइन्छ ।
देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनी स्थापना गर्ने उद्देश्यसहित नेपाल सरकारले विसं २०२४ पुस १ गते प्राइभेट कम्पनीका रूपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानका रूपमा २०२५ साल पुस १ गते परिणत भएको देखिन्छ ।
निर्जीवन बीमा व्यवसायमात्र गर्दै आएको यस कम्पनीले विसं २०२० सालबाट जीवन बीमा व्यवसाय पनि प्रारम्भ गरेको थियो । विसं. २०२५ मा बीमालाई अनुगमन र नियमन गर्न बीमा समितिको गठन भएको थियो । तत्पश्चात् विसं २०४४ सालमा नेपालमा पहिलोपल्ट निजीक्षेत्रको सक्रियतामा विदेशी लगानीमा संयुक्त लगानीको बीमा कम्पनी स्थापना भयो ।
जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने उद्देश्यका साथ नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको थियो । विसं. २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् बनेको सरकारले उदार अर्थनीति अवलम्बन गरेको फलस्वरूप सार्वजनिक उद्योगहरू निजीकरण गर्ने क्रमसँगै निजीक्षेत्रलाई अन्य उद्योगजस्तै बीमा उद्योगमा आकर्षित गर्ने सरकारको नीतिअनुरूप बीमा ऐन, २०४९ र बीमा नियमावली २०४९ कार्यान्वयनमा आयो । त्यसपछि नेपालमा निजीक्षेत्रको स्वामित्वमा बीमा कम्पनीहरू स्थापना गर्नेको संख्या बढेको देखिन्छ । न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी सातओटा प्रदेशमा सातओटा जीवन र निर्जीवनसँग सम्बद्ध लघु बीमा कम्पनीको स्थापना गर्न स्वीकृत प्राप्त भइसकेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार हाल नेपालमा बीमा बजारमा कार्यरत कम्पनीहरूको संख्या जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० पुनर्बीमा कम्पनी २ सहित ४१ रहेको थियो । नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउने भन्दै बीमकहरूले पूँजीवृद्धि गर्नुपर्ने प्रावधान ल्याएसँगै बीमकहरू पनि गाम्भे र गाभिने प्रक्रियामा जान थाले ।
त्यसपश्चात् जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४ पुनर्बीमा दुई र लघुबीमा कम्पनी सातसहित ३७ ओटा देखिन्छन् । विसं २०७९ कात्तिक २२ देखि तत्कालीन बीमा समिति बीमा प्राधिकरणका रूपमा बीमा व्यवसायको नियामकको रूपमा रहेको छ ।
ग्लोबल कन्जुमर स्टडी सर्वे २०२२/२३ का अनुसार बीमासम्बन्धी बढी ज्ञान भएको देश जापान हो, जहाँ १० जनामा सात जनाभन्दा बढीमा यो ज्ञान छ भने भारत सबैभन्दा कमजोर छ जहाँ १० जनामा ४ दशमलव ५ जनामा यसको ज्ञान छ । नेपालमा यसको अवस्था निकै कमजोर छ । किनकि करीब ५८ प्रतिशत मानिस मात्र वित्तीय रूपमा साक्षर भएकाले बीमासम्बन्धी साक्षरता झन् कमजोर देखिन्छ ।
वित्तीय साक्षरताले व्यक्तिको वित्तीय निर्णय क्षमता वृद्घि गराई वित्तीय साधनको उच्चतम प्रयोग र समग्र वित्तीय सेवाको माग बढाउँछ । वित्तीय पहुँच र वित्तीय प्रयोगले वित्तीय समावेशिता बढाई अर्थतन्त्रलाई नै समावेशी बनाउँछ । बीमा साक्षरताको वास्तविक स्थितिको सम्बन्धमा आवश्यक तथ्यांक हालसम्म उपलब्ध देखिँदैन । नेपाल राष्ट्र बैंकका अनुसार पनि नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७ दशमलव ९ प्रतिशत पाइएको थियो ।
वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ३० दशमलव शून्य २ प्रतिशतले बीमा सेवा प्रयोग गरेको पाइएको छ । वयस्क जनसंख्याको ८ दशमलव ४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६ दशमलव ७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् । बीमा किन र कसरी भन्ने सम्बन्धमा खास गरी भौतिक सम्पत्ति र मानव जीवनको रक्षा र जोखिमलाई कम गर्न बीमा गर्ने प्रचलन छ । बीमा गर्न नजिकको बीमा कार्यालय वा यसका एजेन्टहरूमार्फत बीमा गराउनुपर्छ । खास गरी बीमा दुई प्रकारका प्रचलनमा छन् ः जीवन र निर्जीवन ।
यहाँ जीवन बीमा किन भन्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानका अनुसार मानिसको जीवन अमूल्य छ र त्यसलाई तौलन सकिँदैन । तर, मानिसको आकस्मिक अशक्तता वा आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्छ । परिवारको कमाउने सदस्यको मृत्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्छ ।
जीवनमा कमाउने उमेर सधैं रहँदैन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा वृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आडभरोसा दिन्छ । त्यस्तै बालबच्चाको भविष्यका लागि समेत जीवन बीमा महत्त्वपूर्ण हुन सक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षणबापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ ।
निर्जीवन बीमामा भौतिक सम्पत्ति घर, सवारीसाधन, मालसामान आदिको बीमा गरिन्छ । तसर्थ पनि बीमाको महत्त्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा हुने युद्ध, आतंकवाद, प्राकृतिक विपत्ति र मौसम प्रतिकूलताका कारण उत्पादनमा हुने कमी, चोरी, डकैती, हराउने, दुर्घटनाजस्ता विपत्तिबाट बच्न आज विश्वभर नै बीमाको आवश्यकता र औचित्य झन्झन् पेचिलो बन्दै गएको देखिन्छ ।
बीमा पनि वित्तीय प्रणालीको अभिन्न अंग हो । बीमा जोखिम हस्तान्तरण तथा यसको व्यवस्थापनको महत्त्वपूर्ण माध्यम हो । पछिल्लो समय बीमासम्बन्धी चेतनामा अभिवृद्धि भए तापनि यसका वस्तु तथा सेवाका बारेमा आम जनतालाई अपेक्षित रूपमा साक्षरता देखिँदैन । बीमा कम्पनीहरूको वेब पेजहरूमा त विज्ञापन धेरै देखिन्छ तर वेब पेज हेर्न सक्ने साक्षर जनसंख्या कति छन् भन्ने पनि यकीन गर्न जरुरी देखिन्छ ।
नेपाल बीमा प्राधिकरणको २०२४ जुनको तथ्यांकअनुसार बीमाको पहुँच नपुगेको जनसंख्या ५६ दशमलव १ प्रतिशत छ । यस सन् २०२३ मा क्षेत्रमा कुल लगानी हेर्दा जीवन बीमातर्फ रू. ५६९.१६ अर्ब र निर्जीवन बीमातर्फ ५६.७९ अर्ब देखिन्छ । ११ हजार ६५८ जनाले प्रत्यक्ष रोजगारी र २ लाख ७७ हजार ६२६ जना एजेन्ट रहेको र १ हजार २१७ जना सर्वेयर रहेको देखिन्छ । यसरी बीमाक्षेत्रले नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिएको देखिन्छ । विसं २०८१ वैशाखको तथ्यांकअनुसार बीमालेखको संख्या १ करोड ३९ लाख ५४ हजार ५७१ देखिन्छ ।
बीमासम्बन्धी जनचेतना अत्यन्त कमजोर अवस्थामा देखिन्छ । बीमासम्बन्धी कानून र नीतिगत व्यवस्था, बीमामा हुने जालसाझी र झूटा विवरण घटना प्रकृति र मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने कुरा र बीमासम्बन्धी व्यावहारिक ज्ञानको समेत कर्मचारीमा अभाव देखिन्छ । त्यस्तै नागरिकलाई बीमालेख बारे राम्ररी बुझाएर मात्र जारी गर्नुपर्ने देखिन्छ ।
गाउँघरमा समेत बीमाको पहुँच पु¥याउन जरुरी छ । हाल पनि कतिपय गुनासा गाउँघरमा सुन्न पाइन्छ जसमा बीमा कम्पनीहरूले कृषिबीमा गर्न नमानेको, कृषि तथा पशुपक्षी बीमा छायामा परेको, बीमांकमा एकरूपताको अभाव, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो, घर, स्वास्थ्य र जीवनसम्बन्धी बीमा कहाँ र कसरी गर्ने भन्ने पर्याप्त जानकारी नभएकोलगायत छन् । तसर्थ पनि बीमा कम्पनीहरूले सर्वसाधारण, नागरिक समाज, विद्यालय, विश्वविद्यालय, स्थानीय निकाय, वित्तीय क्षेत्र, उद्योग र व्यवसायलाई बीमा र यसको उपादेयता बारेमा साक्षरता प्रदान गर्न ढिला भइसकेको देखिन्छ । आर्थिक, सामाजिक, एव अन्य कारणबाट हुने जोखिमलाई बीमाको दायरामा ल्याउनुपर्ने र जोखिम न्यूनीकरण गर्नुपर्ने उल्लेख गरिएकोे छ । त्यस्तै दुर्गम एवं न्यून आय भएका वर्गमा यसको पहुँच पु¥याउने कुरासमेत उल्लेख गरिएको हुँदा पनि बीमालाई जीवन रक्षा र भौतिक सम्पत्तिको रक्षा एवं भविष्यमा हुने जोखिम न्यूनीकरणको प्रमुख उपाय हो ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी जानकार हुन् ।
आर्थिक अभियान राष्ट्रिय दैनिकबाट साभार गरिएको