कुलिङ पिरियड हटाउँदा बीमा कम्पनीका सिईओहरु तानातान, सञ्चालक समितिले सिईओ र सिईओले सञ्चालक समितिमाथि धोका दिने विकृति
![](https://www.beemapost.com/wp-content/uploads/2022/11/nepal-insurance-authority.jpg)
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले प्रभाव मूल्याङ्कन नै नगरी बीमा कम्पनीका सिईओहरुलाई लगाउँदै आएको कुलिङ पिरियड हटाउँदा सिइओहरुमै विकृति मौलाउन थालेको छ । यसको सबैभन्दा बढि उपयोग निर्जीवन बीमा क्षेत्रमा भइरहेको छ ।
पछिल्लो समय बजारमा चलेको चर्चा अनुसार सलिकोका सिईओ चंकी क्षेत्री एक सिईओ बिहिन निर्जीवन बीमा कम्पनीमा सिईओ बन्न जाने चर्चा बजारमा व्यापक मात्रामा फैलिइरहेको छ । यही बीचमा उनै सिईओ नेपालकै चर्चित र सबैभन्दा ठूलो व्यापारिक घरानाको लगानी रहेको कम्पनीमा सिईओ हुन जान लागेको चर्चा समेत सुनिएको थियो । चंकी क्षेत्री हाल सलिकोमा सिईओ पदमै कार्यरत रहेका छन् । तर, उनै सिईओको विषयमा अन्य कम्पनीमा सिइओ हुन जान लागेको भन्दै हल्ला चलेपछि कम्पनीमा कार्यरत कर्मचारीहरु पनि अन्योलमा परेका छन् ।
सो सम्बन्धमा जिज्ञाशा राख्दा कम्पनीका एक उच्च अधिकारीले आफूले पनि हल्ला चाही सुनेको तर यथार्थ नभएको भन्ने जवाफ दिए । उता, सलिकोका अध्यक्ष मनोहरदास मुलले भने कम्पनीका सिईओ चंकी क्षेत्री अर्को कम्पनीमा जान लागेको कुरा असत्य भएको बताए । बीमापोष्टले सोधेको जिज्ञाशा उनले भने, ‘उहाँ कही जानुहुन्न यही हुनुहुन्छ ।’ सलिकोका सिईओ क्षेत्रीको विषयमा एक महिनादेखि चलेको हल्ला अझै पूर्ण रुपमा सेलाईसकेको छैन ।
त्यस्तै, अर्को एक जीवन बीमा कम्पनीका सिईओ पनि अर्को जीवन बीमा कम्पनीमा सिईओ पदमै कार्यरत व्यक्तिलाई ल्याउन लागेको विषयमा तनावमा परेका छन् ।
माथिका विषय त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय नेपाली बीमा क्षेत्रमा सिईओ तानातानको अवस्था सिर्जना हुन थालेको छ । नियामक बीमा प्राधिकरणले हचुवाको भरमा विकृति आउन सक्नेतर्फ ध्यानै नदिई २०८० फागुन २४ गते जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाबाट बीमक कम्पनीका सिईओ तथा उच्च पदस्थ कर्मचारीहरुलाई त्यसअघि लगाइएको कुलिङ पिरियड हटाइएको थियो । बीमक कम्पनी मात्रै नभई बीमा प्राधिकरणकै कर्मचारीहरुलाई पनि लगाइएको कुलिङ पिरियड हटाइएको थियो ।
प्राधिकरणको यही त्रुटीमा टेकेर नेपाली बीमा क्षेत्रको सिईओहरु नै अर्को कम्पनीका सिईओसँग बार्गेनिङ गर्ने र धेरै तलव पाए हामफाल्ने स्थिति सिर्जना भएको छ । चार वर्षे कार्यकालका लागि बीमा प्राधिकरणबाट अनुमति लिने र प्राधिकरणसँग लिएको अनुमतिलाई लत्याउँदै सञ्चालक समितिले सिईओ र सिईओले सञ्चालक समितिमाथि धोका दिने विकृति सच्याउन बीमा प्राधिकरणको ध्यान जानु आवश्यक देखिएको छ ।