मुस्ताङको थसाङमा हिमपहिरोबाट खुनिएको घट्टेखोला अझै खुलेन, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरोबाट खुनिएको घट्टेखोला अझै खुलेको छैन।कोबाङका वडा सदस्य समेत रहेका स्थानीय भीमप्रसाद थकालीका अनुसार स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिसकिएको छ।
धवलागिरि हिमशृंखलाबाट खसेको हिमपहिरो छिप्लुङसम्म आइपुगेको छ। त्यहाँ मानवबस्ती छैन।
‘माथि मानवबस्ती नभएकाले त्यति जोखिम छैन। तर तल्लो तटीय क्षेत्रमा जोखिम बढ्यो। घट्टे खोलालगायत खोला बोक्सी खोलामा मिसिन्छ। त्यही खोला तल गएर कालिगण्डकीमा मिसिने हो,’ वडा सदस्य थकालीले भने।
यो क्षेत्र जोमसोम नपुग्दै पर्छ। २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमै हिमपहरो गएको थियो। गाउँपालिकाका प्रवक्तासमेत रहेका गौतम शेरचनले हिमपहिरोको प्रकृति तीन वर्षअघिको जस्तो नरहेको उनले बताए।
‘त्यतिबेला हिउँ धेरै हुने समयमा पहिरो खसेको थियो। अहिले त्यस्तो अवस्था त छैन। तर घट्टे खोला थुनिएकाले चुनौती थपिएको हो। प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकाय बोक्सीखोला पुगिसक्नुभएको छ। स्थानीयलाई सतर्क रहन भनिसक्नुभएको छ। उहाँहरू सुरक्षित हुनुहुन्छ,’ उनले भने।