धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव रहदैन: अर्थमन्त्री

६ भाद्र २०८१, बिहीबार १७:३२

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव नरहने जानकारी गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कुनै पार्टी र निश्चित समूहले चाहेको भरमा धितोपत्र बोर्डको अध्यक्ष नहुने भन्दै उनले यस्तो बताएका हुन् ।

सांसद प्रेम सवालले धितोपत्र बोर्डमा नियुक्त हुने अध्यक्षको बिषयमा उठाएको प्रश्नमा यस्तो उत्तर दिएका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने उनको भनाइ छ । मिडियामा प्रकाशित समाचारअनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह गरे । बोर्ड अध्यक्ष नियुक्तिमा कुनै पार्टीका नेताले चाहेर निर्णय नहुने उनको दाबी छ ।

‘सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्ति हुने व्यवस्था हो, कुनै पनि पार्टी वा पार्टीका नेताले चाहेर हुँदैन,’ पौडेलले भने ।

सेयर बजारलाई परिपक्व, अनुशासित र दीगो रूपमा विकास गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । सोसल मिडियामार्फत ग्रुप बनाएर लगानीकर्तालाई भ्रमित नगरियोस् भन्नेमा ध्यान दिइएको उनको दाबी छ ।

निश्चित पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य सूचीकरण हुनुपर्ने चालु आवको बजेटमा गरिएकाले उत्पादनका साधनमा पहुँच बढ्ने उनले बताए ।

दोस्रो बजारमा कारोबार गर्नेको संख्या २२ लाखभन्दा बढी रहेकाले पूँजी बजारमा कसैको एकाधिकार नरहेको उनको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*