टाटा गाडी खरीदका लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच सम्झौता भएको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरीदका लागि ९.९९ प्रतिशतमै कर्जा दिने भएको छ ।
अब टाटा गाडी खरीद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउने बैंकले जनाएको छ । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशतमध्ये जुन कम हुन्छ सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशतमध्ये जुन कम हुन्छ सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करीब ७ लाख ग्राहक रहेका छन् । साथै २०८० पुस २८ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउने प्रस्ताव समेत पारित भएको छ ।