मकवानपुरमा भैंसीले बाघ मारेपछि ….

६ भाद्र २०८१, बिहीबार ११:५५

काठमाडौं । सामान्यतया बाघले जंगली जनावरको सिकार गर्ने गर्दछ । हात्ति बाहेकका अधिकांश जंगली जनावरहरू समेत बाघको निसानामा पर्ने गर्दछन् । तर मकवानपुरको एक गाउँमा गोठमा बाँधिराखेको भैंसीको आक्रमणबाट बाघ मरेको छ ।

विहीबार बिहान करीब सवा ३ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा बाँधिएको भैंसीलाई बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकारमा आक्रमणकारी बाघलाई मार्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्धी गराएको तस्वीरमा बाघ भैंसीको खुट्टातर्फ मरिरहेको अवस्थामा देखिन्छ । प्रहरीले बाघ भैंसीसँग जुधेर मरेको हुनसक्ने जनाएको छ । स्थानीयले बाघ बुढो भएकाले चितवन राष्ट्रिय निकुञ्जमा शिकार गर्न नसकेपछि गोठमा पसेको अनुमान लगाएका छन् । बाघ दुब्लो देखिएकाले धेरै दिनदेखि शिकार गर्न नसकेर भोकले आकुल व्याकुल भई गाउँ पसेको ठानिएको छ ।

बाघ मार्ने भैसीको घाँटीमा चोट लागेको छ । दाहिने घाँटीमा बाघले नङ्ग्रा गाडेको र रगत समेत बगेको देखिएको छ । स्थानीयबासीका अनुसार मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले पोष्टमार्टका लागि लिएर गएका छन् । थप रिपोर्ट पोष्टमार्टमबाट आउनेछ ।

बाघलाई मार्न सफल भैसीलाई हेर्नेको भिड लागेको छ । भैंसीले मरेको बाघमाथि गोब्राएर आफ्नो बहादुरीको संकेत समेत प्रदर्शन गरेको तस्वीरमा देख्न सकिन्छ । जंगली अर्नाहरू बाघसँग बेस्सरी जुधेको विदेशतिरको दृष्य टिभीमा हेर्न पाइए पनि नेपालमा भने भैंसीले बाघ नै मारेको भने सम्भवतः यो पहिलो घट्ना हो ।

उता चितवन राष्ट्रिय निकुञ्जले भने बाघ मरेको कारण पत्ता लगाउने कार्य जारी रहेको जनाएको छ । गोठमा बाँधेको भैंसीले प्रतिकार गर्ने क्रममा हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*