शेयर बजारमा बीमा कम्पनीहरुको २२ अर्ब लगानी, कुन कम्पनीको कति ?
काठमाडौं। बीमा कम्पनीहरुले नेप्सेमा कम्पनीको शेयरमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीको दायरा वृद्धि गरेको हो ।
गत आवको मसान्तसम्म जीवन बीमा कम्पनीहरुको १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ, निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ गरी २२ अर्ब ९८ करोड रुपैयाँ रकम नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयरमा लगानी गरेका छन् ।
जीवन बीमा कम्पनीहरुको १९ अर्ब १२ करोड रुपैयाँ लगानी
बीमा प्राधिकरणले अनुमति दिएका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये मेट लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले शेयर बजारमा लगानी गरेका छन् ।
प्राधिकरणको लगानी निर्देशिका अनुसार कुल लगानीयोग्य कोषको १० प्रतिशतसम्म रकम शेयर बजारमा लगानी गर्न सकिने भएपनि कुनै पनि जीवन बीमा कम्पनीले आफ्नो कुल लगानीको १० प्रतिशत रकम पुँजी बजारमा लगानी गरेको देखिंदैन ।
तथ्यांक अनुसार सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले कुल लगानीको ८.६६ प्रतिशत अर्थात ६५ अर्ब ३९ करोड ६३ लाख ८४ हजार रुपैयाँको लगानी पोर्टफोलियोमा ५ अर्ब ६६ करोड ४५ लाख ७५ हजार रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । प्रतिशतका आधारमा सबैभन्दा कम नेशनल लाइफ इन्स्योरेन्सले कुल लगानीको शुन्य दशमलब ८२ प्रतिशत मात्रै शेयर बजारम लगानी गरेका छन् ।
कम्पनीको ६४ अर्ब ३२ करोड ३० लाख ९८ हजार रुपैयाँको लगानी पोर्टफोलियोमध्ये शेयर बजारमा ५२ करोड ९९ लाख २८ हजार रुपैयाँ मात्रै लगानी गरेको देखिएको छ ।
सबैभन्दा ठूलो बीमा कोष रहेको नेपाल लाइफ इन्स्योरेन्सको लगाानी पोर्टफोलियो २ खर्ब ३ अर्ब १४ करोड १२ लाख ३८ हजार रुपैयाँ भए पनि त्यसको एकदमै सानो हिस्सा १ दशमलब ३८ प्रतिशत अर्थात २ अर्ब ८० करोड १८ लाख २३ हजार रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ ।
लगानी रकमको हिसाबले सबैभन्दा कम शेयर बजारमा लगानी भने सिटिजन लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले शेयर बजारमा २९ करोड ४५ लाख ५३ हजार रुपैयाँ मात्रै लगानी गरेको छ।
रिलायवल नेपाल लाइफले १ अर्ब ५ करोड ६ लाख ५२ हजार रुपयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७७ करोड ९ लाख ५६ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड ६६ लाख १० हजार रुपैयाँ शेयर बजारमा लगानी गरेको देखिएको छ ।
लगानी पोर्टफोलियोको हिसाबले सबैभन्दा सानो लगानी पोर्टफोलियो भने सन नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । जीवन बीमा कम्पनीहरुको समग्र लगानी पोर्टफोलियो ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहे पनि शेयर बजारमा भने त्यसको २ दशमलब ८० प्रतिशत मात्रै लगानी रहेको छ । सम्पूर्ण जीवन बीमा कम्पनीहरुको शेयर बजारमा गरेको लगानी कुल १९ अर्ब १२ करोड ६४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
ननलाइफको शेयरमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी
१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले शेयर बजारमा कुल ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी निर्देशिका अनुसार कुल लगानीको १० प्रतिशतभन्दा बढी शेयर बजारमा लगानी गर्न नपाउने प्रावधान रहेको छ।
जसमा प्रभु इन्स्योरेन्सले कुल लगानीको १३.३१ प्रतिशत लगानी शेयर बजारमा गरेको छ ।
कम्पनीको कुल २ अर्ब ४६ करोड ९१ लाख ५३ हजार रुपैयाँको लगानी पोर्टफोलियोमध्ये ३२ करोड ८६ लाख ३६ हजार रुपैयाँ शेयर बजारमा लगानी गरेको देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सले भने लगानी निर्देशिकाको प्रावधान भित्र रहेर नै लगानी गरेका छन् । राष्ट्रिय बीमा कम्पनीले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँको लगानी पोर्टपोलियोमा ७९ करोड ४१ लाख ८८ हजार रुपैया र नेको इन्स्योरेन्सले ६ अर्ब १० करोड २ लाख रुपैयाँको लगानी पोर्टफोलियोमा ५५ करोड ६ लाख रुपैयाँ लगानी शेयर बजारमा गरेका छन् जुन कुल लगानीको १० प्रतिशतभन्दा कम नै हुन आउँछ ।
निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीले शेयर बजारमा सबैभन्दा बढी लगानी गरेको छ भने एनएलजी इन्स्योरेन्सले सबैभन्दा कम ४ करोड ९ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ ।
लगानी पोर्टफोलियोको आधारमा सबैभन्दा ठूलो लगानी पोर्टफोलियो सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको देखिन्छ । कम्पनीको लगानी पोर्टफोलियो ८ अर्ब ४६ करोड ३ लाख ४७ हजार रुपैयाँ रहेकोमा ४५ करोड ३१ लाख ४१ हजार रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको देखिएको छ । कुल १४ बीमा कम्पनीको ६६ अर्ब ५२ करोड रुपैयाँको लगानी पोर्टफोलियो रहेकोमा त्यसको ५.८० प्रतिशत अर्थात ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी रहेको छ ।