नेपालमा तपस्या गरेर सिद्ध भएका पाइलट बाबाको निधन
काठमाडौं । नेपालको भूमिमा तपस्या गरेर सिद्ध कहलिएका भारतका चर्चित सन्त ‘पाइलट बाबा’को ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।
पाइलट बाबाको जन्म भारतको विहार राज्यस्थित सासाराम भन्ने स्थानमा सन् १९३८ मा भएको थियो । उनको वास्तविक नाम कपिल सिंह हो । उनले १९५७ मा भारतको एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।
उनले सन् १९६२, १९६५ र १९७१ मा चीन, पाकिस्तानविरुद्धको लडाईंमा सहभागी भएका थिए । लडाईंमा बहादुरीपूर्वक लडेबापत भारत सरकारले उनलाई वीर चक्र, विशिष्ट सेवा मेडलबाट सम्मान गरेको थियो । उनले कम उचाइमा लडाकू विमान उडाएर कीर्तिमान समेत राखेका थिए ।
बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका उनले १५ वर्ष भारतीय लडाकू विमान सैनिकको रूपमा सेवा गरेका थिए । विङ कमाण्ड सम्हाल्दै गर्दा उनले सैनिक सेवाबाट अवकाश लिए ।
अवकाश पश्चात् सन् १९७४ मा उनले मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग दीक्षा लिए । त्यहाँ मात्र नभई उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौं वर्ष कठिन तप, साधना गरे । साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको प्रचारबाजी गरे । भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौं स्थानमा दश महाविद्या यज्ञ आयोजित गरेर लाखौं मानिसलाई सत्मार्गमा ल्याए । भारतीय लडाकू विमानका पाइलट रहेकाले उनी पाइलट बाबाको नामले प्रसिद्ध हुँदै गए ।
उनले भक्तपुरको सूर्यविनायकस्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । उनी बेलाबेला उक्त आश्रममा आएर बस्ने गर्थे । नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयागमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए ।
हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उज्जैन पीठका पीठाधीश्वर समेत रहेका उनलाई महामण्डलेश्वरको पदवी समेत दिइएको थियो ।