फस्टाउँदै होटेल व्यवसायः सूचीकृत ६ कम्पनीको मुनाफा ३० प्रतिशतले बढ्यो, कुन सूचकमा को अब्बल ?
काठमाडौँ । आर्थिक शिथिलताले थला परेको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको नाफामा सुधार आइरहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी होटेल गरि ६ वटा कम्पनीको नाफामा आकर्षक सुधार देखिएको हो ।
गत आर्थिक वर्ष २०८०।०८१ को नेप्सेमा सूचीकृत ६ वटा होटलले १ अर्ब २८ करोड ६९ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीहरुले गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा ३०.६८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा होटलहरुले ९८ करोड ४७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएका थिए ।
पछिल्लो समय नेपालमा विदेशी पर्यटकको आगमन उल्लेख्य वृद्धि भइरहेको छ । आन्तरिक पर्यटक समेत बढ्दै जाँदा होटल ब्यवसायहरु फस्टाउँदै गएका हुन् । नेपाल आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ । जसले गर्दा होटलहरुको खुद नाफा बढेको हो ।
शेयर बजारमा चार वटा होटलको शेयर मूल्य एक हजार माथि रहेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सिटि होटलको अधिकांश सूचकमा संकुचन देखिएको छ । जसमा शेयर लगानीकर्ताको लगानी असुरक्षित बन्दै गएको हो ।
वर्षदिनमा सबैभन्दा धेरै नाफा होल्टी होटलले आर्जन गरेको छ । गत आर्थिक वर्षमा होल्टी होटलको नाफा ८.३ प्रतिशतले बढेर ६० करोड १० लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५५ करोड ४९ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
यता, यसअवधिमा सर्वाधिक नाफा बढाउनेमा चन्द्रागिरी हिल्स पहिलो नम्बरमा रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ११ करोड २० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आर्थिक वर्षमा नाफा ९९.३९ प्रतिशतले बढाएर २२ करोड ३३ लाख ८७ हजार रुपैयाँ पुगेको हो ।
साथै, गत आवमा तारागाउँ रिजेन्सीको नाफा २८.१८ प्रतिशतले बढेर ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ, ओरियन्टल होटलको २३.९९ प्रतिशतले घटेर १२ करोड २३ लाख ९ हजार रुपैयाँ र कालिनचोक दर्शनको ७.७७ प्रतिशतले बढेर २ करोड ६६ लाख ६६ हजार रुपैयाँ रहेको छ । सिटि होटलको नाफा भने २० करोड ४७ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिशेयर आम्दानी कस्को कति ?
सूचीकृत ६ होटल मध्ये प्रतिशेयर आम्दानी सबैभन्दा धेरै तारागाउँ रिजेन्सिको रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी ४.९८ रुपैयाँले बढेर २६.४१ पैसा पुगेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको उक्त आम्दानी २१.४३ रुपैयाँ रहेको थियो ।
चन्द्रागिरी हिल्सको प्रतिशेयर आम्दानी सर्वाधिक वृद्धि भएको छ । कम्पनीको इपिएस ७.२६ रुपैयाँले बढेर १४.५६ रुपैयाँ पुगेको छ । साथै, सोल्टी होलको ०.२० रुपैयाँले बढेर ६.४७ रुपैयाँ, ओरियन्टलको १०.८४ रुपैयाँ र कालिचोक दर्शनको ४.४४ रुपैयाँ रहेको छ ।
यता, नाफा समेत ऋणात्मक रहेको सिटि होटल प्रतिशेयर आम्दानीमा समेत नोक्सानमा देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.२३ रुपैयाँ ऋणात्मक रहेको छ ।
सञ्चालन आम्दानी कस्को धेरै ?
कोभिड १९ र आर्थिक मन्दिका कारण निरन्तर होटलको व्यापारमा आइरहेको संकुचन विस्तारै लयमा फर्कि रहेको छ । मासिक जसो करिब १ लाख विदेशी पर्यटक नेपाल आउँदा व्यापार समेत लयमा आइरहेको छ ।
नेप्सेमा सूचीकृत ६ होटलले गत आर्थिक वर्षमा आफ्ना व्यापार १०.१९ प्रतिशतले वृद्धि गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४० करोड २९ लाख रुपैयाँको व्यापार गरेको होटलहरुले गत आर्थिक वर्षमा ७ अर्ब ५ करोड ५५ लाख रुपैयाँ गरेका छन् ।
सबैभन्दा धेरै नाफा कमाउने होटलमा सोल्टी होटल रहेको छ । गत आर्थिक वर्षमा सोल्टीको व्यापार १०.७७ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको व्यापार २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो
त्यस्तै, तारागाँउले १ अर्ब ४९ करोड, ओरियन्टलले १ अर्ब १५ करोड र चन्द्रागिरीले भने १ अर्ब बराबको व्यापार गरेको देखिएको छ । सिटीले ५० करोड ४२ लाख र कालिन्चोकले भने ८ करोड ५४ लाख रुपैयाँको व्यापार गरेको छ ।
जगेडा कोष सञ्चितिमा को अगाडि ?
सूचीकृत ६ वटा होटलहरुमध्ये ओरियन्ट होटलको जगेडा कोषमा सबैभन्दा अगाडि रहेको छ । होटलको जगेडा कोषमा २ अर्ब ७४ करोड रुपैयाँ सञ्चिति रहेको छ ।
यता, सोल्टी होटलको १ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ र तारागाँउको ९१ करोड ४६ लाख रुपैयाँ जगेडा कोष रहेको छ । जगेडा कोषमा चन्द्रागिरी र सिटी होटल ऋणात्मक छन् । उक्त कोषमा चन्द्रागिरी हिल्स ७ करोड ६ लाख र सिटि होटल ९ करोड ९ लाख रुपैयाँ नोक्सानमा रहेका छन् ।