१४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए १३ अर्ब, ६ कम्पनीको घट्यो ? (सूचीसहित)

पुरुषोत्तम नेपाल
४ भाद्र २०८१, मंगलवार १४:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आधा बीमा कम्पनीहरूको अभिकर्ता कमिशन घटेको चौथो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।

बीमा कम्पनीले अभिकर्ताहरूलाई बर्षभरि गरेको व्यवसायको आधारमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार कमिशन दिने गर्छन् । अभिकर्ताले आफूले गरेको प्रथम व्यवसायमा अधिकतम २५ प्रतिशत र नवीकरण बीमाशुल्क आर्जनमा अधिकतम १० बर्षदेखि न्यूनतम ५ बर्षसम्म ५ प्रतिशतसम्म कमिशन पाउने व्यवस्था रहेको छ ।

यसका आधारमा बीमा कम्पनीहरूले अभिकर्ताले गरेको व्यवसायमा प्राधिकरणको प्रावधान अनुसार र अभिकर्ताले भित्र्याएको व्यवसाय अनुसार नै कमिशन प्रवाह गर्ने गर्छन् । अभिकर्ताहरूले नियामकीय प्रावधान अनुसार प्रथम बीमाशुल्क आर्जनमा अधिकतम कमिशन पाउने गर्छन् । नवीकरण बीमाशुल्क आर्जन मार्फत बीमितको बीमा पोलिसी अवधिभर ५ प्रतिशतका दरले कमिशन पाउने गर्छन् ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिशन बापतको खर्च अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा १२ अर्ब ४३ करोड ५९ लाख रुपैयाँभन्दा बढी अभिकर्ता कमिशन बापत खर्च गरेकोमा गत आवमा बढेर १३ अर्ब १२ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

१४ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी अभिकर्ता कमिशन बापत खर्च गरेको छ । गत आवमा यस कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यद्यपि यो खर्च अघिल्लो आवको तुलनामा २ दशमलव ३३ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको थियो ।

गत आवमा सर्वाधिक अभिकर्ता कमिशन बापत खर्च गर्ने कम्पनीको सूचीमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो नम्बरमा छ । कम्पनीले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आवमा जीवन बीमा कम्पनीहरूमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीले सर्वाधिक कम अभिकर्ता कमिशन खर्चिएको छ । यस कम्पनीले गत आवमा १८ करोड ५८ लाख रुपैयाँ खर्चिएको हो ।

गत आवमा ८ वटा जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन खर्च बढाउँदा ६ वटा कम्पनीले भने घटाएका छन् । गत आवमा एलआईसी नेपाल, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफले अभिकर्ता कमिशन खर्च घटाएका हुन् ।

गत आवमा प्रभु महालक्ष्मी लाइफले प्रतिशतका आधारमा सबैभन्दा बढी अभिकर्ता कमिशन बापत खर्च गरेको छ । गत आवमा कम्पनीले ७२ दशमलव ५५ प्रतिशतले अभिकर्ता कमिशन खर्च बढाएको छ । कम्पनीले अघिल्लो आवमा २८ करोड ३७ लाख रुपैयाँ अभिकर्ता कमिशन बापत खर्च गरेकोमा गत आवमा बढाएर ४८ करोड ९५ लाख रुपैयाँ पुर्याएको हो ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदार घिमिरेका अनुसार बीमा कम्पनीमा आर्थिक मन्दी पछाडि नयाँ विजनेशको ग्रोथमा सुधार नदेखिएको र नवीकरण बीमाशुल्क आर्जनमा बीमा पोलिसी सरेन्डर, ल्याप्सेस र बीमितले भुक्तानी गर्न बाँकी बीमाशुल्कको कारण बीमा अभिकर्ता कमिशनमा प्रभाव देखिएको छ ।

यसका साथै घरजग्गा शेयर कारोबारमा सुधार आउँदा पनि बीमितको प्रतिव्यक्ति आम्दानीमा सुधार आई बीमाशुल्क भुक्तानीमा सहज हुने अधिकारी बताउँछन् । सम्रग अर्थतन्त्रमा सुधार आँउदा बीमा व्यवसाय स्वत वृद्धि हुने उनको भनाई रहेको छ।

अर्को मुख्य कारण बीमा बजारमा ठूला उद्योगी बीमितहरूले समेत बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको कारण बीमा अभिकर्ता कमिशनमा प्रत्यक्ष असर परेको उनको बु्झाइ छ । आर्थिक मन्दीपछि उद्योग व्यवसायमा संकट परेकाले जीवन बीमा क्षेत्रमा पनि त्यसको प्रभाव परेको उनले बताए ।

विगत १७ वर्षदेखि हजारौं अभिकर्ताहरूलाई अभिप्रेरित गरेर बीमा व्यवसायमा सक्रिय रूपमा लाग्न हौसला प्रदान गर्ने नेपाल लाइफका नेशनल सेल्स हेड उमापति पोखरेलले आर्थिक मन्दीको प्रत्यक्ष्य वा अप्रत्यक्ष असर हालसम्म देखापरेको बताउँछन् । ‘गत आर्थिक वर्षको शुरूवाती दिनमा ब्याजदर अत्याधिक वृद्धिको कारण पनि बीमा व्यवसायमा असर परेको हो ।’

त्यस्तै नेपाली बजारमा तरलताको अभाव, युवाहरूको विदेश पलायन हुने अवस्था र प्रतिव्यक्ति आम्दानीमा ह्रास आउनुको कारण पनि बीमितहरू आफुँले चोहेको रकममा बीमा गर्न नसकेको उनी बताउँछन् । एक करोड रुपैयाँसम्म बीमा गर्ने बीमा अभिकर्ताहरूले पाँच लाख रुपैयाँसम्मको बीमा गराउन पनि धौधौ पर्न थालिसकेको उनले बताए । देशको समग्र अर्थतन्त्रमा सुधार आएसँगै आगामी आवदेखि बीमा व्यवसायमा सकारात्मक वृद्धि देखिन सक्ने उनको धारणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*