वर्षदिनमा ७ खर्ब ३४ अर्बको शेयर कारोबार, असारमा मात्र २७ करोड कित्ता किनबेच हुँदा कुन सेक्टरको हिस्सा कति ?

३ भाद्र २०८१, सोमबार १३:२०

काठमाडौँ । एक वर्षको अवधिमा ७ खर्ब रुपैयाँ माथिको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को तथ्याङ्ग अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख रुपौयाँको शेयर कारोबार भएको हो । नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी २ अर्ब ५ करोड २१ लाख ५० हजार कित्ता शेयर किनबेच भएको हो ।

उक्त कारोबार अघिल्लो आर्थिक वर्ष २०७९।०८० को भन्दा ५७.२७ प्रतिशतले बढी कारोबार हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २७ करोड ७१ लाख १० हजार कित्ता बराबरको ४ खर्ब ६७ अर्ब १२ करोड ६९ लाख रुपौयँको शेयर खरिद बिक्री भएको थियो ।

१३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । कुल सेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.३ प्रतिशत देखिएको छ । हाइड्रोपावर समूहको ७० करोड ९१ लाख १७ हजार कित्ता बराबरको २ खर्ब ७ अर्ब ६८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावर सेक्टरको ४२ करोड ६० लाख २१ हजार कित्ता बराबरको १ खर्ब ३० अर्ब २३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

छिटो नाफा बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी हुँदा कारोबार बढेको देखिएको छ । दीर्घकालीन लगानीकर्ता बैङ्क तथा वित्तीय संस्था मै लगानी गरी रहेका बेला हाइड्रोपावर सेक्टरमा नाफा बुक गर्दै बजार प्रवेश गर्नेहरुको दबदबा हुँदा कारोबार बढेको हो ।

बीमा सेक्टरको कारोबार समेत आकर्षक

पछिल्लो समय बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण थपिँदै गएको छ । बीमा कम्पनी आम्दानी वृद्धि भइरहेको र लाभांश दिने क्षमता बिस्तार हुने आशले लगानीकर्ता बीमामा झुम्मिएका हुन् । बीमा प्राधिकरणले निर्जीवन बीमाको साढे दुई अर्ब, जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन निर्देशन समेत दिएको थियो । सोही अनुसार कम्पनीहरू अघि बढी रहेका छन् । सोही कारण समेत बीमा लगानीकर्ताको आकर्षण रहेको छ ।

बीमाको दायरासमेत वृद्धि भइरहेको हुँदा लगानीकर्ता बीमा कम्पनीमा लगानी सुरक्षित रहेको जनाइरहेको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीको १६ करोड ६३ लाख ९५ हजार कित्ता बराबरको ९६ अर्ब २० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीको ५९ अर्ब २ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

गत आवको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीको १० करोड ८३ लाख ५२ हजार कित्ता बराबरको ५७ अर्ब १२ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ८९.४३ प्रतिशतले बढी कारोबार हो । जीवन बीमा कम्पनीको शेयर कारोबार हिस्सा ७.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीको ४ करोड ७२ लाख ८० हजार कित्ता बराबरको ३० अर्ब १५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीको कारोबार समेत उच्च वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको ५ लाख ८० लाख ४२ हजार कित्ता बराबरको ३९ अर्ब ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । निर्जीवन बीमा कम्पनीको शेयर कारोबारको हिस्सा ५.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको २८ अर्ब ८६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

बैंकिङ सेक्टरको अवस्था कस्तो ?

गत आर्थिक वर्षमा वाणिज्य बैंक समूहको २६ करोड २० लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ६६ अर्ब ८४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वाणिज्य बैंकको शेयर कारोबारको हिस्सा ९.१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सो सेक्टरको ६६ अर्ब ८५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर मूल्य निरन्तर खुम्चिदै जाँदा लगानीकर्ता वाणिज्य बैंकको कारोबार कम भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध चलेका सडक आन्दोलनले शेयर मूल्यमा निरन्तर धक्का दिएको देखिन्छ । जसले गर्दा कम्पनीको खराब कर्जा बढ्नुका साथै वित्तीय सूचक समेत धरापमा पर्यो । सोहि कारण लगानीकर्ता वाणिज्य बैंकको शेयर खरिद गर्ने डराएका हुन् ।

यता, विकास बैंकको ११ करोड ३७ लाख ४६ हजार कित्ता बराबरको ४१ अर्ब ८० करोड ६९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.९५ प्रतिशतले बढेको हो । शेयर कारोबारमा विकास बैंकको हिस्सा ५.७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको ६४ अर्ब २ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । फाइनान्स सेक्टरको १३ करोड १२ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ । फाइनान्स कम्पनीहरुको शेयर हिस्सा ८.७ प्रतिशत रहेको हो ।

उच्च मूल्य रहेको माइक्रोफाइनान्सको कारोबार कति ?

कुनै समय लगानीकर्ताको पहिलो रोजाईको कम्पनी बनी रहेका लघुवित्त क्षेत्रको शेयर कारोबार निरन्तर ओरालो लागि रहेको छ । लघुवित्तको खराब कर्जा सङ्कलनमा भइरहेको कठिनाइ र कम्पनी खारेज विरुद्ध सडकमा चलेको आन्दोलनले माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ ।

यता, नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लाभांश वितरणमा गरेको कडाइले समेत माइक्रोफाइनान्सको कारोबारमा प्रत्यक्ष असर गरी रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा माइक्रोफाइनान्सको ७ करोड ७१ लाख ८१ हजार कित्ता बराबरको ७० अर्ब ५३ करोड ६४लाख रुपैयाँको शेयर कारोबार भएको छ । माइक्रोफाइनान्सको शेयर कारोबारको हिस्सा ९.६ प्रतिशत रहेको छ ।

असारमा महिनामा उत्साहजनक कारोबार

असार महिनामा मात्र नेप्सेमा १ खर्ब ६ अर्ब २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अर्थतन्त्र लयमा आइरहेको, बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा जेठ महिनामा शेयर कारोबार बढेको हो ।

शेयर बजारको मेरुदण्ड भनेको नै मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नै अबको मौद्रिक नीति खुकुलो आउने संकेत गरेका थिए । सोहि कारण पनि लगानीकर्ताको मनोबल बलियो बन्यो जसले गर्दा शेयर कारोबार समेत सुधार तिर लम्किएको हो । असारमा महिनामा २७ करोड २० लाख ७९ हजार कित्ता शेयर किनबेच भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*