लघुवित्त कम्पनीहरुको ईपीएस र शेयरमूल्य दाजेर हेर्दा : कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ५० वटा लघुवित्तले गत आर्थिक वर्षको चौथों त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश लघुवित्त कम्पनीहरुको प्रतिशेयरमा उल्लेख्य वृद्धि भएको छ ।
प्रतिशेयर आम्दानीले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो ।
दोस्रो बजारमा सेयर कारोवार गर्ने लगानीकर्ताले कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानीको बारेमा जान्न धेरै जरुरी छ । कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीको आर्थिक स्वस्थता र सवलता कस्तो छ भन्ने कुराको जानकारी दिन्छ । कम्पनीको खुद मुनाफाबाट प्रत्येक सेयरमा कति आम्दानी आउँछ भन्ने कुराको जानकारी प्रतिसेयर आम्दानीले दिन्छ । दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी अधिक भएको कम्पनी छनौट गर्नुपर्दछ । प्रतिसेयर आम्दानी अधिक भएको कम्पनीले बोनस पनि अधिक दिन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ ।
समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८६ पैसाले सबैभन्दा बढी रहेपनि शेयरमूल्य प्रतिकित्ता ८७० रुपैयाँमात्र रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको जीवन बिकास लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ २१ पैसा रहेको छ । जसको शेयरमूल्य प्रतिकित्ता १७६० रुपैयाँ रहेको छ ।
त्यस्तै, महिला लघुवित्तको इपीएस ४१ रुपैयाँ ५९ पैसा रहेको छ भने शेयरमूल्य २१०१ रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको छ । यस अवधिमा स्वाबलम्बल लघुवित्तको इपीएस ३७ रुपैयाँ १२ पैसा रहेको छ भने शेयरमूल्य १५५३ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्यृ चार वटाको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ । जसमा एनएमबि लघुवित्त, समुदायिक लघुवित्त, धौलागिरी लघुवित्त र समाज लघुवित्त रहेका छन् ।
शेयरमूल्यको आधारमा आत्मनिर्भर लघुवित्त अग्रस्थानमा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा भएपनि शेयरमूल्य २९२२ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानीमा ऋणात्मक रहेको समजा लघुवित्तको शेयरमूल्य २८०० रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ ।