गत आवमा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले रू. ४६ खर्ब ७३ अर्ब ६० करोडको तरलता प्रशोचन गरेको छ । बैंकले स्थायी निक्षेपमार्फत रू. ३५ खर्ब २२ अर्ब ३५ करोड, निक्षेप संकलन बोलकबोलबाट रू. ११ खर्ब ५१ अर्ब २५ करोड तरलता प्रशोचन गरेको हो ।
समीक्षा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत रू. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रू. ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल रू. ८ खर्ब ४ अर्ब ७६ करोड तरलता उपयोग गरेका छन् । फलस्वरुप, समीक्षा वर्षमा खुद रू. ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद रू. ५४ खर्ब ९ अर्ब ९९ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा वर्षमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ८९ करोड खूद खरिद गरी रू. ७ खर्ब ८३ अर्ब ४७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खूद खरिद गरी रू. ७ खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब २ करोड बिक्री गरी रू. ५ खर्ब ३५ अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी रू. ५ खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।