१६.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, वर्ष दिनमा १४ खर्ब ४५ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
गत आर्थिक वर्षमा नेपालमा भित्रने रेमिट्यान्स बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु.१५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।