‘मैती लाखे’ संस्कृति जगेर्नामा मैतीदेवी युनाईटेड क्लब तथा स्थानीयको योगदान
काठमाडौं । ३० वर्षदेखि रोकिँदै आएको लाखे नाच गत १ वर्ष अघिबाट पुनः सञ्चालनमा आएको छ । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको हो ।
नाग पञ्चमीको अवसरमा साउन २५ गतेदेखि शुरू भएको लाखे नाच भदौ १० गतेसम्म चल्ने मैतीदेवी युनाईटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले बताए । सदिऔंदेखि चल्दै आएको मैतिदेवीको लाखे नाच विभिन्न कारणले तीन दशकदेखि रोकिएको थियो । तर, अहिले पुनः सञ्चालनमा ल्याइएको स्थानीयबासी बताउँछन् ।
लाखे नाच एउटा मौलिक, सांस्कृतिक तथा परम्परागत नाच हो । यो नाच स्थानअनुसार फरकफरक शैली र कथनअनुसार मनाइँन्छ । नाचमा प्रयोग हुने बाजागाजाहरू पनि ठाउँ विशेषले फरक फरक हुने गर्छन् । काठमाडौं उपत्यकामा भने विशेषतः धाः, धिंमे, भुस्याः, नायः खिं जस्ता मौलिक बाजा बजाउने चलन छ ।
‘मेति अजिमा’ हाल मैतिदेवी माँ नामले प्रचलित मैतिदेवीको लाखे नाचको बारेमा पनि पृथक किंबदन्ति छ । किंबदन्ति अनुसार मैतिदेवी (मेति अजिमा) कहाँ सेवा, सुरक्षा र द्वारपालको रूपमा बसेका नाग, नागिन, बेताल, भूत, प्रेत, लाखे, कंवचाकाली, ख्याक आदि जस्ता सेवक गण थिए । त्यहाँका मानिसहरू मैतिदेवी माताका भक्त थिए र उनीहरू विशेष पर्वहरूमा देवी–देवताको धुमधामसंग पूजाआजा, जात्रा–पात्रा गर्थे । बालबालिका र आफैँ पनि बिरामी पर्दा नाग, भूतप्रेत लाग्यो भन्दै दोष निवारण पूजा गर्थे ।
यो सब देखेर द्वारपालको रूपमा रहेका अजंगका लाखेले आफूलाई बेवास्ता गरेको र पूजा नगरि अपमान गरेको सोचेर मानिसहरूसँग रिसाई गाउँ सहरमा पसेर दुःख दिन थाल्यो । अनेक दुःख पाएपछि मानिसहरू माताको शरणमा गए, माताबाट हाँडिगाँउस्थित नरनारायणको शरणमा जान निर्देशन भयो । नरनारायणबाट आफू द्वापरयुगमा कृष्णको रूपमा जन्म लिँदा आसुरी शक्ति दुर्बल हुने भएकाले सोही दिन वध गर्नुपर्ने तर हाल लाखेलाई लोभ देखाएर पूजा गरी भोग दिनु भन्ने निर्देशन भयो ।
सोही अनुरूप मानिसहरूले लाखेको पूजा गरी भोग चढाउन थाले र कृष्ण जन्माष्टमीको दिन मदिरा खुवाई लठ्ठाएर खोलाको किनारमा लगि लाखेको बध गरे । सो दिन लाखेको रगत बगेर खोला किनारका वरपरका खाडलमा रगत जमेको र कयौं दिनसम्म पनि नसुकेपछि त्यस खोलाको नाम ‘हिःजा खुसी’ रहन गएको मान्यता रहीआएको छ । नेवारी भाषामा ‘हिः’ भन्नाले रगत र ‘जा’ भन्नाले जमेको र खुसी भन्नाले खोला हो । जुन हालको परिवर्तित नाम धोबीखोला रहेको छ ।
यसरी आफूलाई दुःख, कष्ट दिने लाखेको अन्त्य भएको र सो दिनको सम्झना सन्ततीहरूले पनि राखुन भन्ने उद्देश्यका साथ लाखे नाच मनाउन थालिएको मानिन्छ । लाखेको पूजाआजा गरी भोग चढाई दर्शन गर्नाले रोग, जादु, टूना नलाग्ने मान्यता रहीआएको छ । लाखे नाच हरेक बर्ष नाग पञ्चमीका दिन निकालिन्छ र कृष्ण जन्माष्टमीको दिन समापन गरिन्छ ।
स्थानीय कृष्ण शाही, राम खड्गी र थुप्रै अग्रजको अध्ययन अनुसन्धानको आधारमा मैतीदेवी युनाइटेड क्लबद्वारा तयार गरिएको कथन ।