आज जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँने जनै पूर्णिमा पर्व आज सोमबार मनाइँदैछ । आजको दिनलाई जनै पूर्णिमाका साथै ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमाका रूपले पनि मनाउने गरिएको छ ।
आजको दिन तागाधारीहरूले वैदिक मन्त्रोच्चरण गरी विधिपूर्वक मन्त्रिएको रक्षासूत्र (डोरो) र जनै लगाउने चलन छ । आज अभिमन्त्रित रक्षासूत्र र जनै धारणा गर्नाले वर्षभरि नकारात्मक तत्वबाट सुरक्षा र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक मान्यता रहीआएको छ ।
तराईमा विशेषगरी आज दिदीबहिनीले सफलता, स्वास्थ्य र सुरक्षाको कामना गर्दै आफ्ना दाजुभाइको हातमा रक्षा बन्धन धागो बाँधिदिने चलन छ ।
आज परम्पराअनुसार एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी खानाले शरीर निरोगी हुने, पेट सफा हुने र वर्षाको पानीमा भिजेर काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्ने धार्मिक एवम् आयुर्वेदिक मान्यता रहीआएको छ ।