५० जना विद्यार्थी पढिरहेको सोलुखुम्बुस्थित थामी आधारभूत विद्यालय बाढीले पुरियो, स्थानीयबासी र विद्यार्थीहरु अधिकांश सकुशल छनः वडा अध्यक्ष ग्याल्जेन शेर्पा
काठमाडौं । मेलम्चीमा तीन वर्ष पहिले आएकै जसरी भिषण बाढीको चपेटामा पर्दा सोलुखुम्बुको थामी गाउँका अधिकांश घरहरु पुरिएका छन् भने स्थानीय थामी आधारभूत विद्यालयमा करिब ५० जना विद्यार्थी पढिरहेको भवनसहितका संरचनाहरु पुरिएको छ ।
स्थानीय जनप्रतिनिधिका अनुसार बाढी ढिलो गतिमा अघि बढेकोले पढ्दै गरेका विद्यार्थी तथा स्थानीयबासीहरु भाग्न सफल भएकोले सबै जना सकुशल रहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले हालसम्म मानवीय क्षति नभएको सूचना नआएको बीमापोष्टलाई बताए । शेर्पाले नेपाली सेनाको उद्धार टोली घटनास्थलमा पुगिसकेको र एक जना बाढीमा आंशिक रुपमा पुरिएकोमा सेनाले उद्धार गर्दै गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘गाउँभन्दा माथिबाट बाढी आएको देखिएकोले विद्यार्थी र स्थानीय गाउँले सबै जना भाग्न भ्याएका छन् । अहिलेसम्मको सूचना अनुसार कोही पनि बाढीमा पर्नु भएको छैन ।’
ग्याल्जेनका अनुसार थामी विद्यालयमा करिब ५० जना विद्यार्थी पढिरहेका थिए । तर टिफिन टाइम भएकोले बाहिर खेलिरहेका थिए । उनीहरु नजिकै होस्टलमा बस्दथे । सबै जनालाई सकुशल भाग्न सफल भएका छन् । विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । त्यस्तै, बाढीले १७ वटा घर, एउटा विद्यालय, बाटो, पुलहरु बगाएको छ । त्यस्तै खति नष्ट गरेको छ ।
सो क्षेत्रमा अपरान्ह १ः३० बजेदेखि बाढी आउन सुरु भएको थियो । सो बाढी कसैले पहिले नै देखेका थिए । साथै गाउँलेहरुले माथिबाट बाढी आइरहेको पहिले नै देखेकोले मानवीय क्षति हुन नपाएको हो । विद्यार्थीहरु समेत खाजा खाने समय भएकोले सुरक्षित स्थानमा सार्न सफल भएका छन् ।