५९ सह-सचिवसहित चार महानिर्देशकको एकैपटक सरुवा
काठमाडौँ । सरकारले एकैपटक फेरी ६३ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग सम्पत्ति शुद्धीकरण विभागका सहसचिवहरूको सरुवा गरेको हो । आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने चार जना परराष्ट्र मन्त्रालय र पाँच जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको राष्ट्रिय सुरक्षा परिषदमा, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशमा, भन्सार विभागका महानिर्देशक ढुण्ढी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक कमलराज भट्टराई राष्ट्रिय सूचना आयोजमा सुरु भएका छन् ।
अर्थ मन्त्रालय आउने सहसचिवहरूमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव हरिशरण पुडासैनी, राष्ट्रिय योजना आयोगका महेश भट्टराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त)का दीपक लामिछाने, लोक सेवा आयोगका गोपीकृष्ण कोइराला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका यमुना प्रधान, आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशका श्याम प्रसाद भण्डारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी रहेका छन् ।
यसैगरी महावाणिज्य दूतका लागि चार जनाको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा रिक्त महावाणिज्य दूतका लागि गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त) का विन्देश्वर प्रसाद लेखक र गृह मन्त्रालयकै सहसचिव भरत खनाललाई सरुवा गरिएको छ ।
भन्सार विभागका उपमहानिर्देशक राम कुमार महतोलाई लोक सेवा आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साललाई गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी प्रदेश सचिव हुमकला पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।
यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउने सहसचिवहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डी प्रसाद घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) की सहसचिव कृष्ण कुमारी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुषाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव विनोद बहादुर कुँवर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल रहेका छन् ।
आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालयका नरेन्द्र कुमार रानालाई लोक सेवा आयोग, महालेखा नियन्त्रकको कार्यालयका नारायण प्रसाद सापकोटालाई निर्वाचन आयोग, अर्थ मन्त्रालयका टोक राज पाण्डेलाई गृह मन्त्रालय, रितेश कुमार शाक्य र टंक प्रसाद पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।