सूचीकृत ४ सिमेन्ट उद्योग: शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा धरापमा अन्य कम्पनी, कुनमा लगानी सुरक्षित ?

३१ श्रावण २०८१, बिहीबार १६:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीहरुको वित्तीय अवस्था खस्किदो क्रममा रहेको छ ।

दोस्रो बजारमा ६०० रुपैयाँभन्दा माथि र एक हजार रुपैयाँभन्दा तलसम्म शेयर मूल्य रहेका कम्पनीहरु वित्तीय अवस्था माथि उठ्न सकेको छैन । सर्वोत्तम, सोनापुर, घोराही र शिवम सिमेन्टले प्रिमियममा आइपीओ निष्कासन गरेका थिए । चार सिमेन्ट कम्पनी मध्ये सबैभन्दा सबल शिवम सिमेन्ट देखिन्छ । अन्य कम्पनीहरुको भन्दा शिवमको वित्तीय अवस्था सन्तोषजनक रहेको छ ।

पछिल्लो समय देशमा आएको आर्थिक मन्दि, निर्माण ब्यवसायीले समयमा नै वक्यौता नपाउनुलगायत विविध कारणले कम्पनीहरुको ब्यवसाय निरन्तर खुम्चिदै गएको हो । जसले गर्दा वित्तीय विवरणलाई धक्का परेको छ । वित्तीय अवस्था नाजुक भएका सिमेन्ट कम्पनीको नै पुँजी बजारमा शेयर मूल्य बढी रहेको छ । वित्तीय अवस्था, भावि योजना, इपिएस तथा ब्यवसायलाई हेरेरभन्दा चलखेलमा कम्पनीको शेयर मूल्य बढेको देखिएको छ ।

बिहिबार अर्थात् साउन ३१ गते घोराही सिमेन्टको ५९७ रुपैयाँ, शिवम सिमेन्टको ७२९ रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयलको ५७५ रुपैयाँ र सर्वोत्तम सिमेन्टको ९७० रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था नै धरापमा भए उसै कम्पनीको मूल्य बढी रहेको पाइएको छ ।

नाफामा शिवमको अग्रता, दुई कम्पनी ऋणात्मक

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये नाफा शिवम अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा २५ करोड २ लाख २२ हजार रुपैयाँ रहेको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा भने ५७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समग्रमा हेर्दा शिवमको वित्तीय अवस्था अन्य कम्पनी भन्दा लोभलाग्दो छ । नाफामा दोस्रो नम्बरमा सर्वोत्तम सिमेन्ट रहेको छ । घुस सेटिङ गरी प्रिमियममा आइपीओ निष्कासन गरेको भन्दै आरोप लागेको सर्वोत्तमको नाफा १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

दुई सिमेन्ट कम्पनीको नाफा भने ऋणात्मक अवस्थामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको सोनापुर गत आर्थिक वर्षमाभने ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । यता, घोराही सिमेन्ट पनि १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ ऋणत्मक अवस्थामा रहेको छ ।

प्रतिशेयर आम्दानीमा पनि शिवम नै नम्बर वान

चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको शिवम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने उक्त आम्दानी ६.८७ रुपैयाँ रहेको थियो ।

सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी ३.७५ रुपैयाँ हुँदा अन्य दुई कम्पनीको भने ऋणात्मक रहेको छ । सोनापुरको १५.२६ रुपैयाँ र घोराहीको २६.६८ रुपैयाँ प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ ।

चुक्तापुँजी कसको कति ?

चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.८१ प्रतिशतले बढी छ ।

यता, गत आवमा सर्वोत्तमको चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको चुक्तापुँजी ४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

साथै, घोराहीको चुक्तापुँजी १५ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र सोनापुरको ६६.६७ प्रतिशतले बढेर ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बिक्री लागत

बिक्री लागतमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको ६ अर्ब ६७ करोड २५ लाख रुपैयाँ बिक्री लागत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

यता, बिक्री लागत सर्वोत्तम सिमेन्ट २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ, घोराही सिमेन्टको १४ प्रतिशतले बढेर ४ अर्ब १६ करोड ६९ लाख रुपैयाँ रहेको छ । सोनापुरको बिक्री लागत १ अर्ब ५५ करोड २६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

संचालन आम्दानीमा पनि शिवम नै अघि

संचालन आम्दानीमा समेत शिवम सिमेन्टनै अघि रहेको छ । चार कम्पनी मध्ये शिवमको संचालन आम्दानी ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवका भने कम्पनीको संचालन आम्दानी ७ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।

साथै, संचालन आम्दानी सर्वोत्तम सिमेन्टको १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड रुपैयाँ, घोराही सिमेन्टको ३.३० प्रतिशतले घटेर ४ अर्ब ४७ करोड रुपैयाँ र सोनापुरको ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थमा को कति बलियो ?

नेप्सेमा सूचीकृत चार सिमेन्ट मध्ये सबैभन्दा धेरै प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा रहेको छ । सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको हो ।

यता, शिवम सिमेन्टको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ र सोनापुरको १६३.२४ रुपैयाँ रहेको छ ।

जगेडा कोष

जगेडा कोषमा समेत शिवम नै अग्र स्थानमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिवमको जगेडा कोष सञ्चिति ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा सञ्चिति ३ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

साथै, सर्वोत्तम सिमेन्टको जगेडा कोष सञ्चिति ३३ करोड ६८ लाख रुपैयाँ, सोनापुरको २९ करोड २१ लाख रुपैयाँ र घोराही सिमेन्टको ७ करोड ९० लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*