तीन कम्पनीको साधारणसभा आज, के–के छन् एजेण्डा?
काठमाडौं । आज साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । यस दिन सूर्योदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् ।
सूर्योदय वोमी लघुवित्त
यस कम्पनीको सभा ललितपुरस्थित लुभु पार्टी प्यालेसमा दिउँसो साढे १२ बजेदेखि बस्नेछ । सभाले एफपीओ सहित कायम चुक्ता पूँजीको १४।००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
श्रृजनशील लघुवित्त
यस कम्पनीको सभा महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सदस्यको निर्वाचन गर्नेछ ।
सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
आरती पावर कम्पनी
यस कम्पनीको सभा काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ स्थित पारिजात पार्टी प्यालेस, जाल्पाचोकमा दिनको २ बजेदेखि बस्दैछ । सभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ४ संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समिति चयन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।