सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

३० श्रावण २०८१, बुधबार १३:२५

काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।

तीन वटै जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथो तथा अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र (एलआईसी नेपाल) लाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो एलआईसी नेपाल रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

जीवन बीमा कोष

समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा एक खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।

दोस्रो नम्बरमा रहेको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २० अर्ब ३८ करोड रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै, तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्स जीवन बीमा कोषमा ७७ अर्ब ९३ करोड रुपैयाँ रकम संचिती रहेको छ ।

जगेडा कोष

तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा जगेडा कोषमा एलआसी नेपाल सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा तीन अर्ब ५७ करोड रुपैयाँ संचित गरेको छ । दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा कोषमा दुई अर्ब ३८ करोड रुपैयाँ र नेशनल लाइफले दुई अर्ब ३४ करोड रुपैयाँ संचित गरेको छ ।

खुद बीमाशुल्क आर्जन

खुद बीमाशुल्क आर्जनको आधारमा पनि नेपाल लाइफ नै अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ४० अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १८ अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कुल बीमा शुल्क आर्जन

तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा शुल्कको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २२ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआसी नेपालले १८ अर्ब १० करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

खुद नाफा

वित्तीय विवरण सार्वजनिक गरेका सबै कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ । दोस्रोमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४० करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । तेस्रोमा रहेको एलआसी नेपालको मुनाफा २३ करोड ८५ लाख रुपैयाँमा सीमित रहेको छ ।

यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल बीमा दावी भुक्तानी

तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा दाबी भुक्तानीमा नेपाल लाइफ नै अगाडि रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले १४ अर्ब ९९ करोड रुपैयाँको कुल दावी भुक्तानी गरेको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय भित्रिएसँगै जोखिम पनि भित्रिन्छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको खुद बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीको कुल बीमा दाबी भुक्तानी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको कल बीमा दाबी भुक्तानी आठ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

कुल खर्च

समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा ५५ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको एलआसी नेपालले एक वर्षमा २७ अर्ब ४३ करोड रुपैयाँ र २४ करोड ३४ लाख रुपैयाँ कुल खर्च गरेका छन् ।

कुल कायम रेहको बीमालेख संख्या

कुल कायम रहेका बीमालेखको आधारमा नेशनल लाइफ अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीमा कुल १५ लाख ९८ हजार बीमा पोलिसी कायम रहेका छन् । नेपाल लाइफ इन्योरेन्समा १४ लाख ६७ हजार र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा ६ लाख ९० हजार बीमा लेख संख्या कायम छन ।

प्रति शेयर आम्दानी

प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा एलआइसी नेपाल अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ । दास्रोमा रहेको नेशनल लाइफको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ११ पैसा र तेस्रो स्थानमा रहेको नेपाल लाइफको ६ रुपैयाँ २६ पैसा मात्र छ ।

प्रतिशेयर नेटवर्थ

प्रतिशेयर नेटवर्थको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा एलआईसी (नेपाल) अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, नेशनल लाइफको १४४ रुपैयाँ २८ पैसा र नेपाल लाइफको १२९ रुपैयाँ ११ पैसा रहेको छ ।

उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गनुपर्ने हुन्छ ।

 

One thought on “सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

  1. Chudamani Khanal says:

    LIC Nepal is the best company.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*