हिमालयन एभरेष्टको नाफा ५०% वृद्धि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षमा खुद नाफा ५०.०८ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ४४ करोड ५० लाख रुपैयाँ मात्रै थियो ।
यद्यपि कम्पनीको बीमा कोषको आकार भने १७.६० प्रतिशतले खुम्चिएर ३ अर्ब ४५ करोड ४ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ थियो । गत वर्ष कम्पनीको कुल दाबी भुक्तानी २२.२३ प्रतिशले बढेर ७४ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.४८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन ३६.९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ भएको छ ।
कम्पनीको चुक्ता पूँजी ८.६३ प्रतिशतले बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । रिजर्भ फण्डको आकार १५.४५ प्रतिशत बढेर २ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले संस्थागत सुधार गर्दै ३७.४४ प्रतिशतले खर्च वृद्धि गरेको छ । प्रतिशेयर आम्दानी समेत ७.३८ रुपैयाँले बढेर २६.७२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १९१.८३ रुपैयाँ, पीई रेसियो २३.६५ गुणा र सोल्भेन्सी रेसियो ३.२४ प्रतिशत रहेको छ ।