ठगी धन्दा चलाउँदै आएको सिप्रदीलाई उन्मुक्ति दिने गिरोहहरु सक्रिय, कालोसूचीको फाइल दराजमा थन्कियो

२९ श्रावण २०८१, मंगलवार १३:५७

काठमाडौँ । नेपाली अटो बजारमा ठगी धन्दा चलाउँदै आएको सिप्रदी ट्रेडिङलाई कालो सूचीमा राख्न आनाकानी भइरहेको पाइएको छ । काठमाडौँ महागरपालिकाले नयाँ भन्दै पुरानो गाडि बिक्री गरेकोमा सिप्रदीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो । तर, सिफारिस भएको महिनौ भइसक्दा समेत कालो सूचीमा राख्नलाई पठाइएको फाइल सार्वजनिक खरिद अनुगमन कार्यालयको दराजमा थन्किएको हो ।

सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भेटिएपछि ३ वर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो तर, शक्तिको आडमा सिप्रदीलाई कारबाही गर्ने आनाकानी भइरहेको छ । सरकारी निकायमा समेत खुलेयाम ठगी धन्दा चलाइ रहेको सिप्रदीलाई कारबाही नगर्नेका लागि ठुलै शक्ति लागि परेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘कानुन शाखाले सबै फाइल हेरी नयाँ भनेर पुराना गाडि बेचेको प्रमाणीत गरी सकेको हो । तर, कालो सूचीका लागि आवश्यक प्रक्रिया अगाडि नबढाउन ठुलै ब्यक्तिको आदेश छ । सिप्रदीलाई उन्मुक्ति भइसकेको छ ।’

महानगरपालिकाले सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भएको खुलेको थियो । हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि काठमाडौँ महानगरपालिकाले २०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । यसमा सिप्रदी ट्रेडिङ प्रालि सफल बोलपत्रदाताको रूपमा छनोट भयो । बोलपत्रसम्बन्धी कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको उल्लेख छ । ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ । २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ । यसबाट झुकाएर सामान उपलब्ध गराउन खोजेको महानगरले स्पष्ट पारेको थियो ।

केन्द्रमा नै सरकारी निकायको आँखामा छारो हाल्न खोज्ने सिप्रदीले देशभरी नै यस्ता ठगि कार्य गरी रहेको हुन सक्ने आकलन हुन थालेका छन् । ठगि कार्य गरी रहेको सिप्रदीको व्यापार समेत निरन्तर खस्किदै गएको छ । टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङको एक वर्षको अवधिमा साढे १० अर्ब व्यापार गायब भएको छ । इक्रा नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३६.७८ प्रतिशत अर्थात् १० अर्ब ६५ करोड १० लाख रुपैयाँले कम हो । सन् २०२२ मा कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ हुन् । हाल कम्पनीका अध्यक्ष सिद्धार्थ एसजेबी राणा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*