एचआईडिसीएलको व्यवसाय सन्तोषजनक, नाफा र इपीएसमा सामान्य वृद्धि
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा सहितका प्रमुख वित्तीय सूचांकहरुमा उल्लेख्य सुधार भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले वित्तीय सूचांकहरुमा वृद्धि देखाएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.६७ प्रतिशतले वृद्धि भएर १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आवको असारसम्ममा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधमिा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि झिनो सुधार भएको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ ।
२२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ ।