भिषण युद्धको तयारीमा इरान, मध्यपूर्वमा रहेका हजारौं नेपाली जोखिममा

२८ श्रावण २०८१, सोमबार २२:१९

काठमाडौं । मध्यपूर्व यतिबेला भिषण युद्धको संघारमा उभिएको छ । इरानले कुनै पनि बेला इजरायलमाथि भिषण आक्रमणको तयारी गरिरहेको छ । इजरायलले समेत इरानले गर्न सक्ने सम्भावित आक्रमणको प्रतिरोध कसरी गर्ने भनेर योजना बनाइरहेको छ ।

टाइम्स अफ इजरायलका अनुसार इजरायलमाथि आगमी २४ घण्टाभित्रैमा भिषण आक्रमण हुनसक्ने छ । त्यसको लागि इजरायलले बहु आयामिक प्रतिरक्षा गर्ने जनाएको छ । अमेरिका, बेलायत, फ्रान्स जर्मनीको साथमा इरानी आक्रमणको प्रतिरोध गर्ने इजरायलको तयारी छ ।
अमेरिकाले इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणमा इजरायलको सहयोग गर्न आणविक हतियारयुक्त पनबुब्बी मध्यपूर्वमा पठाएको छ । यसअघि नै करिब एक दर्जन युद्धपोत मध्यपूर्वमा केन्द्रीकृत गरिसकेको अमेरिकाले थप सैन्य शक्तिलाई केन्द्रीकृत गर्ने क्रम अझै तीव्र पारिरहेको छ ।

दुवैतर्फको तयारी हेर्दा मध्यपूर्वमा कुनै पनि बेला भिषण युद्ध हुनेछ । अझ इरानले राडारमा नदेखिने प्रविधिको मिसाइल विकास गरिसकेको तथ्य बाहिरिएसँगै मध्यपूर्वमा तनाव निकै बढिरहेको छ ।

पछिल्लो समय थुप्रै हवाई जहाज कम्पनीहरुले इजरायलको राजधानी तेलअभिभको हवाई उडान रद्द गरिसकेका छन् । लेबानी क्षेत्रबाट हिजबुल्लाले गरिरहेको लगातारको आक्रमण, इरानले गर्ने सम्भाविता आक्रमणका बीचमा इजरायल अब नचाहेर बहुराष्ट्रिय युद्धमा फस्न पुग्ने देखिएको छ ।

यसैबीच इरानका विदेशमन्त्री अली बघेरीले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन संवाद गरेका छन् । चीनियाँ विदेशीमन्त्री यीसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री बघेरीले प्यालेस्टाइनी नेता इस्माइल हनियाँको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने आफ्नो अधिकार भएको सन्देश बेईजिङलाई दिएका छन् ।

इजरायलमाथि सैन्य हमला भएमा मध्यपूर्वमा रहेको लाखौं नेपालीहरु प्रभावित हुनेछन् । इजरायलमै पनि करिब एक लाख नेपाली रहेको अनुमान गरिएको छ । उनीहरुलाई उद्धार गरेर नेपाल ल्याउने विषय चुनौतिपूर्ण हुनेछ । तयारी हेर्दा युद्ध भिषण हुने देखिएको छ । त्यस्तो अवस्थामा लेबनानमा शान्ति स्थापनाको लागि खटिएको नेपाली सेनाका करिब १३०० जनाको टोलीको भविष्य के हुन्छ ? अर्को कडा प्रश्न बनेर अगाडि आउनेछ । राष्ट्र संघीय सेनाको रुपमा शान्ति स्थापनाको लागि लेबनानमा खटिएको नेपाली सेना अहिले पनि जोखिममा नै छ । इजरायल र हिजबुल्लाबीचमा हुने युद्धको चपेटामा नेपाली सेना पनि पर्ने सम्भावना बलियो रहेको छ ।

सरकारले भने मध्यपूर्वमा फैलिन सक्ने युद्ध र यसबाट नेपालीहरुलाई पार्ने प्रभावको सम्बन्धमा कुनै तयारी गरेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*