प्रधानमन्त्री ओलीले सचिवमार्फत सत्ता कब्जा गर्न खोजेको भन्दै कांग्रेस असन्तुष्ट
काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमा नै सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस असन्तुष्ट बन्न पुगेको छ । प्रधानमन्त्री आलीले सचिवहरुमार्फत सत्ता पूर्ण रुपमा आफ्नो कब्जामा लिन खोजेपछि राजकीय अभ्यास बुझेका केही कांग्रेसीहरु भित्रभित्रै असन्तुष्ट बन्न पुगेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले शपथ ग्रहण गरेको केही दिनपछि नै सबै सचिवहरुलाई बोलाएर दुई दिनसम्म प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणको नतिजा हरेक मन्त्रालयमा देखिन थालेपछि एउटा गोप्य रिपोर्ट कांग्रेस सभापति शेर बहादुर देउवा कहाँ पुगेको छ । जसमा प्रम ओलीले सचिवहरु लगाएर सत्ता कब्जा गर्न खोजेको तथ्यहरुको श्रृंखला नै प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री ओलीको प्रशिक्षणपछि सचिवहरुले मन्त्रीलाई टेर्न छाडेको निष्कर्ष नेपाली कांग्रेस सम्बद्ध मन्त्रीहरुले निकालेका छन् । सरकारमा सहभागी केही मन्त्रीहरुले समेत पार्टी सभापति देउवालाई सो सम्बन्धमा रिपोर्ट गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले यही साउन १४ र १५ गते सबै सचिवहरुसँग गम्भीर छलफल गरेर २६ बुँदे निर्देशन दिएका थिए । सो निर्देशनको बुँदा नं १० मा कानून बमोजिम जनतालाई सेवा दिने कुरामा आदेशको पालना गरिरहनु नपर्ने र आफ्नो अधिकार प्रयोग गरेर काम गर्न निर्देशन दिइएको छ ।
कांग्रेसको बुझाई पनि सरकार सञ्चालन गर्दा प्रम ओलीले सचिवमार्फत आफैले सबै मन्त्रालय चलाउन खोजेको भन्ने छ । सो बुझाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, शेखर कोइरालाहरुले संश्लेषण गरिरहेका छन् । संविधान अनुसार संविधानको धारा ७६ (३) बमोजिम बनेको अहिलेको सरकारले विश्वास गुमाएको अवस्थामा उपधारा ५ बमोजिम सबैभन्दा ठूलो पार्टीको हैसियतमा नेपाली कांग्रेस पार्टीले सत्ताको नेतृत्व पाउनेछ ।
अहिले बजारमा सरकारको आयु लामो छैन भन्दै अनेकन हल्ला चलिरहेको बेला नेपाली कांग्रेसभित्र उब्जिएको यो संशयको निवारण कसरी हुन्छ त्यो भने हेर्न बाँकी छ ।