आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा १५६% र कुल बीमा शुल्क ७२% वृद्धि

२८ श्रावण २०८१, सोमबार ०७:११

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको मुनाफा १५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ६१ करोड २१ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

कम्पनीले यस अवधिमा खुद बीमा शूल्क आर्जन ९०.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७४ करोड ४२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा तीन अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा दुई अर्ब नौ करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ७२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई १ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । बीमितहरुलाई प्राथमिकतामा राख्दै कम्पनीले कुल दावी भुक्तानीलाई ६७ प्रतिशतले वृद्धि गराएको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ।

तीन अर्ब दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार १६ प्रतिशतले बढेर पाँच अर्ब ६८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*